
अभियानका लागि गाउँपालिका क्षेत्रभित्र एक फलफूल नर्सरी सञ्चालन एवं विस्तार गरिने अध्यक्ष कुँवरले बताए । “कृषि क्षेत्रको विकास र प्रवर्द्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमीनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफूल तथा नगदेबालीका पकेट क्षेत्रको रूपमा घोषणा गरी मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल उत्पादनका साथै माटोको परीक्षण गरी आधुनिक तरिकाले कृषिलाई व्यवसायीकरण गर्न प्रोत्साहित गरिने छ”, उनको भनाइ छ ।
कुँवरका अनुसार कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण, विशिष्टीकरण र व्यवसायीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा गाउँपालिकाले जोड दिएको छ । गाउँपालिकाभित्र कृषिको सम्भावना भएका वडामा चिस्यान केन्द्र स्थापना गर्ने एवं उत्पादित कृषि उपजलाई बजारीकरणका लागि ढिकुरपोखरी र नयाँपुलमा कृषि उपज सङ्कलन तथा बजारीकरण केन्द्र स्थापना गरिने अध्यक्ष कुँवरले बताए ।
ती केन्द्र कृषक समूहमार्फत सञ्चालन गरी उत्पादित वस्तुको उचित मूल्य प्राप्त गर्ने अवस्थाको सिर्जनाका लागि प्रदेशसँगको साझेदारीमा आवश्यक प्रक्रिया अगाडि बढाइने अध्यक्ष कुँवरले बताए । नगदे बालीतर्फको विशेष जोनको रूपमा सञ्चालित कफी जोन, अलैँची जोन र सुन्तला पकेट जोनका कार्यक्रमलाई प्रदेशसँगको समन्वयमा विकास, विस्तार गर्नुका साथै स्थानीय किसानको आयआर्जनको मुख्य क्षेत्रका रूपमा स्थापित गर्दै जाने नीति लिइएको अध्यक्ष कुँवरले बताए ।रासस