ज्ञानमाण्डू। रोजगारका लागि भारत लगायत तेस्रो मुलुकबाट फर्किएका युवालाई प्रधानमन्त्री रोजगार तथा मुख्यमन्त्री रोजगार कार्यक्रमले केही समयका लागि रोजगारीमा सहभागी गराएका छन् । गरिब समुदायका लागि ती कार्यक्रम अहिले  प्रभावकारी देखिएको छ । 

महाबु गाउँपालिकाले ती दुई कार्यक्रममा युवालाई परिचालन गरेको छ । करिब ६०० युवालाई सडक मर्मत तथा खानेपानीका पाइप विछ्याउने लगायतका काममा परिचालन गरिएको छ । गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले गाउँपालिकामा तीन हजार ५०० युवा गाउँ भित्रिएका र उनीहरुलाई विकासमा परिचालन  गरिएको जानकारी दिए । 
आगामी वर्षदेखि ती कार्यक्रमका साथमा गाउँपालिकाले पनि रोजगार कार्यक्रमको तयारी गरेको र तीनवटै कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गरी युवालाई गाउँमै रोक्ने तयारी थालिएको उनले बताए । 
भगवतीमाई गाउँपालिकाका २६ घर दलित समुदायका युवायुवतीले वडा नं ६ को २ किलोमिटर सडक निर्माण सम्पन्न गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रु नौ लाख बजेटले गोरेटो बाटो निर्माण गरिएको छ । गरिब समुदायका लागि यस्ता काम निकै प्रभावकारी भएको स्थानीय रामबहादुर विकले जानकारी दिए । 
उनले भने, “२६ घरका सबैले बराबरी काम गरेका छौँ ।” काम सकियो भने सबैले बराबरी रकम बाँड्छौँ एक घरलाई न्यूनतम ४० हजार पैसा भाग परे पनि वर्षभरि खाने अन्न व्यवस्थापनमा सजिलो हुने उनको भनाइ छ । लकडाउन अवधिमा जिल्लामा करिब १७ हजार फर्किएका थिए ।  युवाले गाउँमै रोजगारी दिने कार्यक्रम ल्याउन माग गरेका छन् । रासस
        
            
    
    