ज्ञानमाण्डू। रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बम घाटदेखि पाल्पा जिल्लाको तिनाहूँ गाउँपालिका वसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ ।
हालै सम्पन्न कम्पनीको विशेष साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पौषभित्र सम्पन्न हुने र माग १ गतेदेखि सञ्चालनमा आउने बताउनुभएको हो ।
करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधा सम्पन्न होटेल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरू निर्माण हुनेछन् ।
“केबलकारको तल्लो स्टेसनसम्म पुग्ने करिब ४०० मिटर पहुँचमार्गको निर्माण कार्य सम्पन्न भएको छ । तल्लो स्टेसनको सब–इस्टक्चरको निर्माण कार्य करिब सम्पन्न भई सुपर इस्टक्चरको कार्य र साइट डेभलपमेन्टको काम अगाडी बढिरहेको छ । नौ वटा टावरमध्ये ८ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी रहेको टावरको कार्य अगाडी बढिरहेको छ,” उहाँले भन्नुभयो ।
साथै, उहाँले माथिल्लो स्टेसनमा सब–इस्टक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरूको आयात गर्ने काम अगाडि बढेको बताउनुभयो ।
त्यसै गरी, माथिल्लो स्टेसनमा रहेको मन्दिरक्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजना सँग–सँगै सम्पन्न गर्नुपर्ने भएकोले हाल कार्यरत निर्माण कम्पनीलाई नै पुरानै सर्त बमोजिम कार्य प्रारम्भ गर्न निर्देशन दिइएको बताउनुभएको छ ।
ढकालले माथिल्लो स्टेसनमा प्रस्तावित होटेललाई अन्तर्राष्ट्रिय चेन–होटेलसँग आबद्ध गराउन अन्तर्राष्ट्रिय परामर्शदाताहरूसँग छलफल भइरहेको जानकारी समेत गराउनुभयो ।
केबलकारको २०७७ साल फागुन १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।