![](https://1.bp.blogspot.com/-rssLMaiRFHI/X55u-JabyCI/AAAAAAAAKcY/Aals50oe1-gTHuf0xrf1k99p4KFNJIxIgCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2020-11-01%2Bat%2B11.54.11.png)
लन्डन: विश्वव्यापीरूपमा कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन सुरु भएसँगै विदेशमा रहेका नेपालीमा पनि कोरोना सङ्क्रमण बढेको पाइएको छ ।
गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको र सङ्क्रमतिमध्ये ४५० रोमानियामा रहेका नेपाली छन् ।
सङ्घका स्वास्थ्य समिति संयोजक डा सञ्जीव सापकोटाका अनुसार, यो साता रोमानिया, पोल्यान्ड, स्पेन, कतार, भारत, क्यानाडा र युकेका रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमण भएका र यसका कारण कसैको पनि मृत्य भने भएको छैन ।
हालसम्म ४२ देशमा रहेका ४३ हजार ५६९ नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेकामा तीमध्ये ३९ हजार ५६५ जना अर्थात् ९२ प्रतिशत सङ्क्रमणबाट मुक्त भएको उक्त समितिले जनाएको छ ।
गत सातासम्म १९ देशमा रहेका २८४ नेपालीको कोरोनाका निधन भइसकेको बताइएको छ ।
कोरोना भाइरसबाट सङ्क्रमितमध्ये मुक्त हुनेहरुको सङ्ख्या बढेको छ । गत हप्तासम्म सङ्क्रमणबाट मुक्त हुने औसत ७० प्रतिशत रहेकामा यो साता ७६ दशमलव नौ प्रतिशत पुगेको छ ।
उक्त सङ्घले अति आवश्यकबाहेक अन्य कामका लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ । कोरोनाका कारण बेलायत फ्रान्स, बेल्जियम र जर्मनीजस्ता मुलुकमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अति आवश्यकबाहेक अन्य प्रयोजनका लागि यात्रा नगर्न उक्त सङ्घले आह्वान गरेको हो । सङ्घका संयोजक डा सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेलासमेत नगर्न आग्रह गर्नाका साथै सार्वजनिक स्थलहरुमा निस्ँिकदा सकेसम्म माक्सको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन र अनिवार्य रुपमा माक्स प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।रासस