
ज्ञानमाण्डू। वाणिज्य बैङ्कहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । केन्द्रीय बैङ्कबाट 'क' वर्ग को इजाजत प्राप्त कुल २७ वटा वाणिज्य बैङ्कहरूले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१० प्रतिशत नाफा वृद्धि गर्न सफल भएको तथ्याङ्कले देखाएको छ। जसमध्ये धेरै जसो बैङ्कले नाफा बढाएको वित्तीय विवरण प्रकाशित गरेका छन् भने ६ वाणिज्य बैङ्कहरूले गत वर्षको दोस्रो त्रैमासको तुलनामा नाफामा गिरावट आएको विवरण प्रकाशित गरेका छन्।
चालु आर्थिक वर्ष २०७८/७९ दोस्रो त्रैमाससम्मको अवधिमा २७ वाणिज्य बैङ्कले ३४ अर्ब २१ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको मुनाफा ३१ अर्ब ७ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा ३ बैङ्कहरूले २ अर्ब बढी र १३ बैङ्कहरूले एक अर्ब बढी खुद नाफा आर्जन गरेका छन् भने ११ बैङ्कको नाफा अर्ब भन्दा कम रहेको देखिएको छ अर्थात् १६ वाणिज्य बैङ्कहरू अर्ब पति क्लबमा सामेल हुन सफल भएका छन्। वाणिज्य बैङ्कहरू मध्ये ग्लोबल आइएमई बैङ्क, एनआईसी एशिया बैङ्क र नबिल बैङ्कले २ अर्ब बढी नाफा कमाएका छन् ।

पहिलो त्रैमासमा सर्वाधिक नाफा कमाउने ग्लोबल आइएमई बैङ्क
चालु आ.व.को पहिलो ६ महिनामा सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैङ्कले गरेको छ । बैङ्कले चालु आ.व.को पहिलो ६ महिनामा नै २ अर्ब ६६ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशतले बढी हो ।
त्यसै गरी, एनआईसी एशिया बैङ्कले २ अर्ब ४० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैङ्कले गत वर्षको भन्दा १६.५७ प्रतिशतले नाफा बढाउन सफल भएको हो । त्यस्तै २ अर्ब अधिक नाफा कमाएको नबिल बैङ्कले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब १८ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.२० प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा राम्रो मुनाफा आर्जन गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क पनि रहेको छ । बैङ्कले गत वर्षको दोस्रो त्रैमासको तुलनामा ९.७६ प्रतिशतले मुनाफा बढाउँदै १ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, एनएमबी बैङ्कको मुनाफा समीक्षा अवधिमा १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । उक्त बैङ्कले गत वर्षको सोही अवधिको तुलनामा ६.०४ प्रतिशतको वृद्धि गर्न सफल भएको हो ।
सबैभन्दा कम नाफा सिभिल बैङ्कको
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सर्वाधिक कम नाफा कमाउने वाणिज्य बैङ्क, सिभिल बैङ्क रहेको छ। उक्त बैङ्कले चालु आ.व.को ६ महिनामा ५० करोड ४० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४८.४२ प्रतिशतले बढी हो । त्यसै गरी, सेञ्चुरि कमर्सियल बैङ्कले समीक्षा अवधिमा ७२ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५४.७७ प्रतिशतले बढी हो ।
त्यस्तै, कम नाफा कमाएको बैङ्क अफ काठमाण्डूले समीक्षा अवधिमा ७१ करोड ९३ लाख रुपैयाँ नाफा गरेको देखिएको छ। उक्त बैङ्कले गत वर्षको सोही अवधिको तुलनामा नाफामा १.५३ प्रतिशतको वृद्धि गर्न सफल भएको हो ।
सर्वाधिक नाफा वृद्धि गर्ने सिभिल बैङ्क
चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्याङ्क अनुसार सबैभन्दा बढी सिभिल बैङ्कले आफ्नो मुनाफामा वृद्धि गर्न सफल भएको देखिएको छ । बैङ्कले गत वर्षको सोही अवधिको तुलनामा १४८ दशमलव ४२ प्रतिशतले मुनाफा वृद्धि गरेको हो । त्यसै गरी, सिद्धार्थ बैङ्कले ७१.६८ प्रतिशत नाफा वृद्धि गर्दै चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ। नाफामा उल्लेख्य वृद्धि गरेको सेञ्चुरि कमर्सियल बैङ्कले गत वर्षको तुलनामा झन्डै ५५ प्रतिशत नाफा वृद्धि गर्दै चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७२ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ।
त्यसै गरी, नेपाल एसबीआई बैङ्कले ५२.०४ प्रतिशत, स्टयाण्डर्ड चार्टर्ड बैङ्कले ४९.३६ प्रतिशत, नेपाल क्रेडिट एन्ड कमर्स बैङ्कले ४६.६७ प्रतिशत र सिटिजन्स बैङ्कले ४१.६१ प्रतिशतले अघिल्लो वर्षको पहिलो ६ महिनाको तुलनामा नाफा वृद्धि गरेको प्रतिवेदन सार्वजनिक गरेका छन् ।
सर्वाधिक कम नाफा वृद्धि गर्ने लक्ष्मी बैङ्क रहेको छ। उक्त बैङ्कले चालु आ.व.को पहिलो ६ महिनामा ८१ करोड ७४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा मात्र १.२७ प्रतिशतले बढी हो ।
सर्वाधिक नाफा घटाउने कुमारी बैङ्क
धेरै जसो बैङ्कले नाफा बढाएको वित्तीय विवरण प्रकाशित गर्दा ६ वाणिज्य बैङ्कहरूले भने गत वर्षको दोस्रो त्रैमासको तुलनामा नाफामा गिरावट आएको विवरण प्रकाशित गरेका छन्। चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नाफा घटाउने कुमारी बैङ्क देखिएको छ । गत वर्षको समीक्षा अवधिको तुलनामा बैङ्कको मुनाफा २१ दशमलव ७७ प्रतिशतले गिरावट आएर ९५ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको समीक्षा अवधिमा बैङ्कले १ अर्ब २१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो।
त्यस्तै, नाफा घटाएका प्रभु बैङ्क, नेपाल बङ्गलादेश बैङ्क, एभरेष्ट बैङ्क र प्राइम कमर्सियल बैङ्कको नाफा अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा क्रमशः १६.९०, १३.८२, १२.७९ र ७.४३ प्रतिशतले घटेको छ।
अस्वीकरण (डिस्क्लेमर): सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।