कर्मचारी सञ्चय कोष र  सिद्धार्थ बैङ्क लिमिटेडबिच बैङ्कमा कार्यरत कर्मचारीहरूको सञ्चय कोष रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने गरी सम्झौता भएको छ ।सम्झौता अनुसार, यसै आर्थिक वर्षदेखि बैङ्कमा कार्यरत सबै कर्मचारीहरूको कोष कट्टी रकम नियमित रूपमा कर्मचारी सञ्चय कोषमा जम्मा हुनेछ । साथै, बैङ्कबाट कोषलाई हाल हस्तान्तरण गरिएको रकम रु. १,५८,३०,१८,२१७।२० समेत सञ्चय कोषले व्यवस्थापन गर्नेछ ।
सिद्धार्थ बैङ्कमा हाल १,९५५ जना कर्मचारीहरू कार्यरत रहेका छन् ।
सम्झौतामा कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चयकर्ता सेवा विभागका प्रमुख सागर कुमार सिंह र सिद्धार्थ बैङ्कको तर्फबाट बैङ्कका नायब महाप्रबन्धक सुरेश राज महर्जनले हस्ताक्षर गर्नुभयो ।
सम्झौता पश्चात् बैङ्कका कर्मचारीहरूले कर्मचारी सञ्चय कोषका अन्य सञ्चयकर्ता सरह कोषबाट प्रदान हुने सुविधाहरू समेत उपयोग गर्न सक्ने छन् । बैङ्कका कर्मचारीहरूले नियमानुसारको अवधि तथा प्रक्रिया पूरा गरी कोषबाट सहुलियत ब्याजदरमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, जग्गा खरिद सापटी र सरल सापटी लगायतका सुविधा उपयोग गर्न सक्नेछन् ।
यस्तै¸ कोषले सञ्चयकर्तालाई कुनै व्ययभार नपर्ने गरी कोषको आफ्नै स्रोतबाट सञ्चयकर्ताहरूलाई विभिन्न सामाजिक सुरक्षा सुविधा समेत उपलब्ध गराउँदै आएको छ । जसअनुसार, साधारण रोगको उपचारको लागि वार्षिक रु. १ लाखसम्म र कडा रोगको लागि सेवा अवधिभरमा रु. १० लाख सम्म शोधभर्ना प्रदान गर्ने गरिएको छ । दुर्घटना क्षतिपूर्ति बापत रु. २ लाखसम्म तथा काजक्रिया अनुदान रु. ४० हजार निजका हकवालाले प्राप्त गर्ने गरेका छन् । कोषले सुत्केरी तथा शिशु स्याहार सुविधा अन्तर्गत प्रति प्रसूति बढीमा दुई पटकसम्म रु. ७ हजार ५ सय समेत प्रदान गर्दै आएको छ ।
कर्मचारी सञ्चय कोषमा हालसम्म ५९१ बैङ्क तथा वित्तीय संस्थाहरू आबद्ध भइसकेका छन् । कूल ८१,६५० कार्यालयका ५,७९,००० सञ्चयकर्ताहरूको सञ्चय कोषको व्यवस्थापन सञ्चय कोष मार्फत भइरहेको छ । साथै, ४,२९० कार्यालयका ९५,७७३ योगदानकर्ताहरूको योगदानमा आधारित निवृत्त भरण कोषको व्यवस्थापन समेत कोषले गर्दै आइरहेको छ ।
नेपाल सरकारले आर्थिक ऐन, २०८२ मा संशोधन गरी साबिकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू कर्मचारी सञ्चय कोष जस्ता अवकाश कोषमा आबद्ध हुनु पर्ने व्यवस्था गरेसँगै बैङ्क तथा वित्तीय संस्थाहरू कर्मचारी सञ्चय कोषमा आबद्ध हुने क्रम बढ्दै गएको छ । गत असार ३१ गते आन्तरिक राजस्व विभागले एक सूचना जारी गरी आर्थिक ऐन, २०८२ को दफा २३ मा आयकर ऐन, २०५८ बमोजिम साबिकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू २०८३ साल असार मसान्तभित्र कर्मचारी सञ्चय कोष लगायतमा अनिवार्य आबद्ध हुनु पर्ने व्यवस्थाको जानकारी गराएको थियो ।
 
सिद्धार्थ बैङ्क कर्मचारी सञ्चय कोषमा आबद्ध
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            100.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    