गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर आगामी आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरु हुने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज कम्पनीको साधारण शेयर सूचीकृत भएको छ। नेप्सेमा कुनै पनि कम्पनी सूचीकृत भएको दोस्रो दिनबाट शेयर कारोबार सुरु हुने प्रावधान रहेको छ। तर, शुक्रबार सार्वजनिक बिदा भएकाले गार्डियन माइक्रो लाइफको शेयर अब आइतबारदेखि मात्रै खरिदबिक्रीका लागि खुल्नेछ।
कुल ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएका छन्, जसमा संस्थापकतर्फ ५२ लाख ५० हजार कित्ता तथा वैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेतको २२ लाख ५० हजार कित्ता शेयर समावेश छन्।
नेप्सेले गार्डियन माइक्रो लाइफलाई ‘जीएमएलआई’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १००.३४ रुपैयाँदेखि अधिकतम ३०१.०२ रुपैयाँको ओपनिङ रेन्ज तोकिएको छ।
आइतबार प्रि-सेसनमा नेप्सेले तोकेको रेन्जभित्र पहिलो कारोबार भएपछि मात्र नियमित सेसनमा शेयर खरिदबिक्री गर्न सकिनेछ।
कम्पनीले गत पुस २१ देखि पुस २४ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको थियो भने माघ ६ गते यसको बाँडफाँट गरिएको थियो। गार्डियन माइक्रो लाइफको आईपीओ बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको थियो।