ग्लोबल आइएमई बैङ्क लिमिटेडले बैङ्कका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।
बैङ्कले सात वटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरूमा २० हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको थियो ।
बैङ्कले कोशी प्रदेश आयोजना गरेको कार्यक्रममा २५००, मधेश प्रदेशमा २०००, बागमती प्रदेशमा ५०००, गण्डकी प्रदेशमा ४५००, लुम्बिनी प्रदेशमा ३५००, कर्णाली प्रदेशमा ५०० र सुदूरपश्चिम प्रदेशमा २५०० भन्दा बढी लक्षित वर्गको सहभागिता रहेको थियो ।
ग्लोबल आइएमई बैङ्कले चालु आर्थिक वर्ष २०८०/८१ मा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना ३५४ शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गर्न गइरहेको छ ।
कार्यक्रममा बचत, कर्जा, रेमिटेन्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।
ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।
ग्लोबल आइएमई बैङ्कलाई सबैका लागि बैङ्क बनाउँदै बैङ्कले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।
त्यसै गरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
 
ग्लोबल आइएमई बैङ्कका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    