उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योगी तथा व्यवसायीलाई निराश नहुन आग्रह गर्नुभएको छ ।
बाँकेको कोहलपुरमा आज आयोजना भएको नेपाल इँटा उद्योग महासङ्घको १५औँ वार्षिक साधारण सभामा उहाँले राष्ट्रका सामु देखिएका समस्या मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।
उहाँले इँटा उद्योगको समस्यालाई वार्ता र संवादमार्फत टुङ्गो लगाउने उल्लेख गर्दै अहिलेको प्रणाली ठुलो त्याग र बलिदानबाट आएको परिवर्तन भएको बताउनुभयो ।
नेपाल इँटा उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष शङ्करबहादुर चन्दले इँटा उद्योगी पलायन हुने अवस्थामा रहेको उल्लेख गर्दै इँटाको विकल्पमा अन्य वस्तुको प्रयोगपछि यसको माग घटेको जानकारी दिनुभयो ।
“स्वदेशको माग धानिरहेको इँटा उद्योग एकाएक पलायन हुने अवस्थाबाट रोक्न राज्यलाई घच्घच्याउन आवश्यक छ”, उहाँले भन्नुभयो ।
अध्यक्ष चन्द इँटा उद्योगीले चुनौती झेलिरहेको भन्दै माग घट्दा बजारीकरणको समस्या थपिएको र सरकारले पुँजीगत खर्च गर्न नसक्दा त्यसको असर निर्माणमा परेकाले निर्माण कार्य घट्दा इँटाको खपत हुन नसकेको बताउनुभयो ।
करिब आठ प्रतिशत ब्याज लिएर कारोबार गरेका उद्योगीले अहिले १५ प्रतिशत ब्याज तिर्नुपरेको गुनासो गर्दै उहाँले साँवा र ब्याज तिर्न समय पाए उद्योगी तथा व्यवसायीलाई राहत हुने बताउनुभयो ।
नेपाल इँटा व्यवसायी सङ्घ बाँकेका अध्यक्ष देवबहादुर वली क्षेत्रीले इँटा व्यवसायीले चुनौती भोगिरहनुपरेको बताउनुभयो । बाँकेमा ५० भन्दा बढी इँटा उद्योग दर्ता भएका छन् ।
जिल्लामा मात्रै वार्षिक २५ करोड इँटा उत्पादन हुने गरेको अनुमान छ । गत वर्ष १० देखि १२ करोड मात्रै इँटा उत्पादन भएको थियो । देशभर करिब एक हजार दुई सयको हाराहारीमा रहेका इँटा उद्योगबाट दुई सय ५० प्रतिनिधि साधारण सभामा सहभागी भएका थिए ।
निजी क्षेत्रलाई निराश नहुन आग्रह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
