नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिन्छ ।
नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिन्छ । सो च्यालेन्ज हिजो (२०८० भाद्र २४) देखि प्रारम्भ भएको छ र आगामी असोज ७ गते सम्म सहभागी हुन सकिने नेपाल टेलिकमले जनाएको छ ।
विजेताहरूलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरेको छ । सो अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् ।
त्यसै गरी सान्त्वना पुरस्कारको रूपमा १० जना सहभागीलाई रु. ५०० को टप अप प्रदान गर्ने छ ।
नेपाली महिलाहरूको महान् चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरेको हो । यसबाट तीज पर्व थप मनोरञ्जक बन्ने कम्पनीको अपेक्षा रहेको बताएको छ ।