नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको पछिल्लो आर्थिक अवस्था चिन्ताजनक रहेको टिप्पणी गर्नुभएको छ ।
बाह्रखरी मिडियाको आयोजनामा बुधवार काठमाडौँमा भएको ‘निजी क्षेत्रको आवाज’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले अहिलेको स्थिति प्रतिकूल भए पनि निजी क्षेत्र सम्हालिएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
“मुलुकको अर्थतन्त्र निकै जटिल अवस्थामा छ,” ढकालले भन्नुभयो, “चाहे हामी हाम्रा नीतिगत कारण भनौँ वा कोभिडको कारण या विश्वव्यापीकरण देखिएको सङ्कट या श्रीलङ्काको डर देखाएर ल्याइएको नीतिका कारण अर्थतन्त्र अप्ठेरोमा परेको छ ।”
उहाँले आफूहरूको नेतृत्व आइसकेपछि निजी क्षेत्रले बलियो गरी आफ्ना कुराहरू अघि सारेको बताउनुभयो ।
“सरकारले लिएका कतिपय नीतिले अहिले सरकारले नै तलब खुवाउन नसक्ने अवस्था सिर्जना भयो,” उहाँले भन्नुभयो, “समस्या समाधानका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्छ । नेपाल सरकार, राष्ट्र बैङ्क, अरू नियामयकी निकाय सबै एक ठाउँमा आउनुको विकल्प छैन ।”
उहाँले पद बहाली गरेको चार महिनामै राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, पूर्व प्रधानमन्त्री दलका प्रमुख सचेतक, सांसदलगायत समक्ष आफूहरू पुगेर पछिल्लो अवस्थाका बारेमा स्मरण गराएको बताउनुभयो ।
“त्यही कारण कतिपय विधेयक अहिले संसद्मा पुगेका छन्,. तर हामी अझै ढुक्क चाहिँ छैनौँ,” उहाँले भन्नुभयो ।
उहाँले निजी क्षेत्रले कहिले पनि खुट्टा नकमाएको स्पष्ट पार्दै निजी क्षेत्रको हितका लागि कहिले पनि पछि नपर्ने दृढता व्यक्त गर्नुभयो ।
उहाँले पछिल्ला दिनमा व्यवसायीलाई परेका अप्ठेराप्रति निजी क्षेत्रकै तीन वटै निकाय एकै ठाउँमा उभिएर आवाज उठाएको पनि बताउनुभयो ।
“अहिलेको समस्यामा व्यापारीलाई मात्रै दोष दिएर हुँदैन,” उहाँले भन्नुभयो, “अहिले समस्या सबैको साझा हो सबै मिलेर अघि बढ्न सके त्यति गाह्रो पनि छ जस्तो मलाई लाग्दैन । अहिले आम जनताको विश्वास गुमेको अवस्था छ। त्यो सरकार र नेपाल राष्ट्र बैङ्कबाट दिइयो भने पहिलेकै लयमा आउन समस्या हुँदैन ।”
उहाँले अहिले सबै निकाय एकै ठाउँमा उभिएर दबाब दिनुपर्ने समय रहेको बताउँदै सडकमा निस्कने कुरा नगर्न आग्रह गर्नुभयो ।
“हामी व्यवसायी सडकमै निस्कन जरुरी छैन,” उहाँले भन्नुभयो, “अहिले व्यवसाय पसल, फ्याक्ट्री हरेक कुरा बन्द भयो भने के हुन्छ भन्ने विचार गर्नुपर्छ । त्यो अवस्था आउन दिनु हुँदैन । त्यो आउनु नेपालका लागि धेरै नराम्रो अवस्था हो । त्यो व्यक्ति विशेष, पार्टी विशेष भन्दा पनि एकदमै जिम्मेवार हिसाबले हामीले सुझाव दिएका छौँ । नीतिका लागि लबिङ गरेका छौँ र त्यो जारी राख्छौँ ।”
अर्थतन्त्र सुधारका लागि सबै पक्ष मिल्नुको विकल्प छैन: अध्यक्ष ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
