कतारको राजधानी दोहामा फिफा विश्वकप २०२२ को भव्य सुरुवात भई सकेको छ । अबको एक महिनासम्म विश्वको ध्यान दोहामा हुनेछ ।
तर तपाईँलाई थाहा नहुन सक्छ, खाडी देश कतार कसरी यति धेरै धनी बन्यो ? एक शताब्दी पहिले सन् १९२२ मा १२ हजार किलोमिटर क्षेत्रफलमा फैलिएको कतारलाई मानव बसोबासको लागि उपयुक्त मानिँदैन थियो । त्यति बेला यहाँ आदिवासी बस्थे । तिनीहरूमध्ये अधिकांश माछा मारेर अनि समुद्रमा मोती खोजेर जीवन निर्वाह गर्थे । यही कारणले कतारको अर्थव्यवस्था जीवित थियो ।
कतारका नागरिकहरू जो अहिले आफ्नो नवौँ दशकको उमेरमा छन्, उनीहरूसँग सन् १९३०-४० को भयावह आर्थिक सङ्कट भोगेको अनुभव छ । त्यति बेला जापानले मोतीको व्यावसायिक खेती सुरु गर्यो र यसको व्यापक उत्पादन गर्न थाल्यो अनि कतारको आम्दानीको मुख्य स्रोतमा ‘ब्रेक’ लाग्यो । कतारको अर्थव्यवस्था धराशायी बन्यो । त्यही दशकमा कतारका करिब ३० प्रतिशत नागरिक राम्रो अवसरको खोजीमा विश्वका विभिन्न देशमा पलायन भए । संयुक्त राष्ट्र सङ्घको तथ्याङ्क अनुसार त्यसपछि कतारको जनसङ्ख्या करिब २४ हजारमा समेटियो ।
तर फेरि कतारको अर्थव्यवस्थामा एकाएक परिवर्तन आयो जब कतारले मोतीबाट तेलतर्फ पाइला अघि बढायो । त्यसपछि कतार चमत्कारिक ढङ्गले संसारकै सबैभन्दा ठुलो तेल भण्डारको रूपमा अगाडि आयो ।
२० औँ शताब्दीको मध्यसम्म आइपुग्दा कतारले तीव्रताका साथ खनिज उत्खनन सुरु गर्यो । त्यसैको परिणामस्वरूप अहिले कतार विश्वमै धनी देशको सुचीमा छ । कतारसँग गगनचुम्बी भवन, उत्कृष्ट कृत्रिम द्वीप र अत्याधुनिक रङ्गशाला छन् । विश्वका समृद्ध देशहरूमा कतार पनि पर्छ । छोटो समयमा यति धनी देश बनेको कतारको आर्थिक क्रान्तिलाई बुझ्न निम्न तीन घटनालाई नियाल्नु पर्ने हुन्छ ।
सन् १९३९ मा खनिज तेलको खोजी
कतारमा ‘कालो सुन’ भनिने खनिज तेलको खोजी भएको समयमा कतार स्वतन्त्र देश थिएन । कतार बेलायती साम्राज्यको हातमा थियो । बेलायतले सन् १९१६ मा कतारमाथि आफ्नो नियन्त्रण कायम गरेको थियो ।
कैयौँ वर्षको खोजीपछि पहिलो तेल भण्डार कतारको पश्चिमी तटमा रहेको दोहाभन्दा लगभग ८० किलोमिटरको दुरीमा फेला पर्यो । तर पनि त्यसलाई व्यवसायीकरण गर्न केही वर्ष लाग्यो । अमेरिकाको बेकर इन्स्टिट्युशनमा कतार मामिलाका जानकार क्रिस्टियन कोट्सका अनुसार यो खोज दोस्रो विश्व युद्धको सुरुमा भएको थियो । जस कारण १९४९ सम्म तेलको निर्यात हुन भने पाएन ।
तर विश्व युद्ध सकिए लगत्तै कतारले तेलको निर्यात गर्न थाल्यो । योसँगै कतारमा अवसर बढ्दै गए र तीव्रताका साथ परिवर्तन देखिन थाले । कतारको तेल उद्योगप्रति आकर्षित भएर विदेशी लगानीकर्ता कतार आउन थाले । योसँगै कतारको जनसङ्ख्यामा वृद्धि हुन थाल्यो । १९५० मा जनसङ्ख्या २५ हजार भन्दा कम भएकोमा १९७० मा पुग्दा एक लाख नाघ्यो ।
जुन देश कुनै समय माछा मार्ने र मोती खोज्ने कामबाट आफ्नो गुजारा चलाउँथ्यो, त्यस ठाउँको कुल ग्राह्यस्थ उत्पादन १९७० मा आइपुग्दा तीन सय मिलियन अमेरिकी डलरभन्दा धेरै भयो । त्यसको एक वर्षपछि बेलायती शासनको पनि अन्त्य भयो र कतार एक स्वतन्त्र देश बन्यो । योसँगै यहाँ एक नयाँ युगको सुरुवात भयो, जसले कतारलाई झनै धनी बनायो ।
प्राकृतिक ग्यासको खोजी
जब १९७१ मा इन्जिनियरको टिमले कतारको पूर्वी तटदेखि पर उत्तरी भूमिमा विशाल प्राकृतिक ग्यास भण्डारको खोजी गरे तब कमैले मात्र यसको महत्त्वबारे बुझेका थिए । यो बुझ्नमा १४ वर्ष र दर्जनौँ प्रयास गर्नुपर्यो । उत्तरी भूमिको त्यो ग्यास भण्डार विश्वकै ग्यास भण्डारको दश प्रतिशत हो । योसँगै कतार इरान र रुसपछि दोस्रो ठुलो प्राकृतिक ग्यास भण्डार भएको देश बन्यो । उत्तरी भूमिको क्षेत्रफल ६ हजार वर्ग किलोमिटर छ, जुन पुरै कतारको आधा भाग हो । ‘कतार ग्यास’ विश्वमै सबैभन्दा बढी तरल प्राकृतिक ग्यास उत्पादन गर्ने कम्पनी बनेको छ । यही कम्पनीले नै कतारको आर्थिक वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको छ । तर तेल जस्तै ग्यासबाट आम्दानी गर्न पनि कतारलाई धेरै समय खर्चिनुपर्यो ।
कतार मामिलाका जानकार कोट्सका अनुसार लामो समयसम्म ग्यासको माग खासै थिएन । तर ८० को दशकमा धेरै कुरामा परिवर्तन हुन सुरु भयो । देशभित्रै यसलाई वितरण गर्न थालियो र ९० को दशकमा कतारले यसको निर्यात गर्न थाल्यो । जसले कतारको अर्थव्यवस्थालाई अगाडि बढाउन मुख्य इन्जिनको रूपमा काम गर्यो ।
१९९५ को राजनैतिक परिवर्तन
कतारको आर्थिक विकास दरको ग्राफले २१ औँ शताब्दीको सुरुवातसँगै ठुलो फड्को मार्यो । सन् २००३–०४ मा कतारको कुल ग्राह्यस्थ उत्पादनको दर बढेर ३ दशमलव ७ बाट १९ दशमलव २ प्रतिशत भयो । दुई वर्षपछि सन् २००६ मा त्यो बढेर फेरि २६ दशमलव २ प्रतिशत पुग्यो ।
यसरी बढ्दै गएको जिडिपी दर कतारको तागत र पहिचान बन्यो । तर यसरी जिडिपीको बढ्दो दरलाई ग्यासको मूल्यमै सीमित राख्न सकिँदैन थियो । अर्थशास्त्री तथा कतार विश्वविद्यालयका प्रोफेसर मोहम्मद सईदीका अनुसार कतारमा राजनीतिक परिवर्तन हुन थालेसँगै आर्थिक परिवर्तन पनि भएको हो । सन् १९५५ मा वर्तमान अमिर तमीम बिन हमाद अलथानीका बुवा हमाद बिन खलिफा अलथानीले सत्ता सम्हाल्नुभयो । तर यसलाई कतिपयले विवादित घटना पनि भन्छन् ।
हमाद बिन खलिफा अलथानी आफ्ना बुवा स्विजरल्याण्डको भ्रमणमा गएको बेला विद्रोह गरेर सत्तामा आउनुभयो । तर सत्ता हत्याउन गरिएको यो पहिलो विद्रोह थिएन । अलथानी परिवार कतारमा डेढ सय वर्षदेखि शासन गर्दै आएको छ । त्योबिचमा यस्ता घटना धेरै पटक भएका छन् । तर यो सत्ता परिवर्तनले भने कतारको अर्थव्यवस्थामा ठुलो परिवर्तन ल्याएको ठानिन्छ ।
त्यसपछि ग्यास तथा तेलको उत्खननमा गरेको लगानी, तरलीकरण र यसको निर्यातको लागि तयार गरिएका पूर्वाधारले कतारलाई विश्वसँग जोड्यो । सन् १९६६ मा तरल प्राकृतिक ग्यासले भरिएको एक ठुलो जहाज जापानतर्फ गयो । त्यो नै कतार ग्यासको लागि पहिलो ठुलो निर्यात थियो । यहीँबाट कतारमा अरबौँ डलरको उद्योगको सुरुवात भयो । जसले कतारलाई वैश्विक सम्पदाको उचाइमा पुर्यायो । २०२१ मा कतारमा प्रतिव्यक्ति जिडिपी ६१ हजार २७६ अमेरिकी डलर थियो । यसको एक कारण कतारको जनसङ्ख्या थोरै हुनु पनि हो । कतारको जनसङ्ख्या लगभग तीन देखि साढे तीन लाखको आसपास छ । जसमध्ये अधिकांश प्रवासी छन् । कतार सरकारले आफ्ना नागरिकलाई धेरै तलब, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्छ ।
कतारी अर्थव्यवस्थाका चुनौतीहरू
अहिले केही वर्षयता कतारको अर्थव्यवस्था घाटामा देखिएको छ । भविष्यमा यसका अगाडि केही चुनौती पनि छन् । जसमध्ये कतार इन्धनमाथिको निर्भरता र जलवायु प्रभावलाई लिएर चिन्तित छ ।
कतार विश्वविद्यालयका प्रोफेसर सईदीका अनुसार सन् २०१३ र २०१४ मा तेलको मूल्यमा गिरावट आयो र आयको स्रोत बदल्नुपर्ने चर्चा कतारमा मुख्य विषय बन्यो । यस्तै कतारसँगको कूटनीतिक विवादपछि साउदी अरब, युएई, बहराइन तथा इजिप्टले सन् २०१७ र २०२१ का बिच नाकाबन्दी गरेको थियो । जसले कतारको अर्थ व्यवस्थालाई ठुलो चुनौती दियो ।
कोट्सका अनुसार कतारले ग्यास र तेलबाहेक आर्थिक कमाइको मार्ग खोजेको छैन । त्यसैले अहिले कतार निजी क्षेत्रलाई बढवा दिन चाहन्छ । हाइड्रो कार्बन अर्थात् तेलमाथिको निर्भरताबाट हटाउन कतारले निजी क्षेत्रमा लगानी बढाएको छ । यो प्रयासको राम्रो उदाहरण लन्डन र न्यु योर्क जस्ता ठुला सहरमा केही प्रसिद्ध सम्पत्तिमा कतारले गरेको लगानी तथा हिस्सेदारी हुनसक्छ ।
अमेरिकाको बेकर इन्स्टिट्युशनमा कतार मामिलाका जानकार क्रिस्टियन कोट्स कतारले दोहालाई कन्फ्रेन्स र मीटिंग हब बनाउने बताउनुहुन्छ । उहाँका अनुसार विश्वकप आयोजना यसको एक ठुलो उदाहरण हो ।
कतारले विश्वकप आयोजनाको लागि दुई लाख मिलियन अमेरिकी डलर भन्दा धेरै खर्च गरेको छ । जो इतिहासमै अहिलेसम्मकै सबैभन्दा बढी महँगो फिफा विश्वकप हो । यसमा आठ रङ्गशाला, एक नयाँ विमानस्थल र एक नयाँ मेट्रो लाइन जस्ता पूर्वाधार निर्माण गरिएका छन् ।
जसरी कतारले पूर्वाधार तयार गरेको छ, विवादित पनि उत्तिकै छ । यसको निर्माण कार्यमा नेपाल, भारत तथा बङ्गलादेशलगायत देशका श्रमिकलाई अमानवीय रूपमा प्रयोग गरियो र हजारौँको ज्यान गयो भन्ने आरोप कतारमाथि लागेको छ । यस्तै सन् २०१० मा कतारले घुस दिएर फिफा विश्वकप आयोजना आफ्नो पोल्टामा पारेको आरोप पनि कतारलाई लाग्दै आएको छ ।
यस्तै, केही समय पहिले मात्रै कतारी अधिकारीहरूले एलजीबीटी समुदायको विषयमा दिएको विवादित बयानले कतारलाई विश्वभरबाट आलोचना खेपिरहनुपरेको छ । यी सबै आलोचना र आरोपकै बिच कतार अर्थतन्त्र, विकास र प्रविधिमा उदाएको छ । एउटा सानो देशको लागि फिफा विश्वकप आयोजना निकै ठुलो कुरा हो । साथै छोटो समयमा समृद्धिको स्वाद चाखेको कतारले अत्याधुनिक र प्रगतिशील छवि देखाउँदै आफूलाई भूराजनीतिक खेलाडीको रूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ ।