काठको अभावमा मादल बनाउने पेशा सङ्कटमा

ज्ञानमाण्डू।आजभन्दा करिब दुई दशक अघिसम्म हातमा मादल बनाउने सीप भएका व्यक्तिलाई मादल बनाउने चटारोले फुर्सद नै हुँदैनथ्यो । मादल बनाएरै केहीले जीविका चलाएका पनि थिए । पछिल्लो समय भने हातमा सीप भए पनि मादल बनाउन सिपालु व्यक्तिका दिन भने फुर्सदिला बनेका छन् । गाउँमा काठको अभाव, बजारमा छरपस्ट तयारी अवस्थामा आएका मादल भित्रिन थालेपछि मादल बनाउने पुरानो पेसा अहिले सङ्कटमा छ । 

आजभन्दा १५ वर्षअघि पाल्पास्थित रामपुर नगरपालिका–८ बस्ने ५२ वर्षीय रामबहादुर गन्धर्वले मादल बनाएर राम्रै कमाइ गर्ने गरेका थिए । त्यस समय उनलाई मादल बनाउन भ्याई नभ्याई हुने गर्दथ्यो । गाउँघरमा हातले बनाएका मादल खरिद गर्न आउने ग्राहकको दिनहुँ भीड लाग्दथ्यो । मादल बनाएर गन्धर्वले परिवारको जीविका चलाउँदै आएकामा पछिल्ला समयमा भने काठको अभावमा पेसा नै सङ्कटमा पर्न गएको बताउँछन् । “पहिला त मादल बनाएर दिन बितेको पत्तो हुँदैनथ्यो, अहिले मादलप्रति खासै आकर्षण पनि छैन, व्यापारमा कमी आउँदा पेसा नै धरापमा छ”, गन्धर्वको भनाइ छ । 

उनले जीवनको तीन दशक समय मादल बनाएरै बिताए तर यो पेसा संरक्षणमा स्थानीय तह, विभिन्न सङ्घसंस्था, व्यक्ति कसैबाट पनि सहयोग नभएको उनी गुनासो गर्दछन् । “गाउँमा कसैले मादल बनाउँदैनन्, पुरानो पेसा जोगाउन भनेर निरन्तर लागि परिरहेको छु तर यसको संरक्षणमा कसैले अहिलेसम्म सहयोग गरेका छैनन्”, उनले दुखेसो पोखे । अहिले गाउँघरमा पहिला जसो काठ पनि पाइँदैन । मादल बनाउन काठको समस्या परेपछि गन्धर्वले १५ वर्षयता भने पोखराबाट घार खरिद गरेर भए पनि पेशालाई आजसम्म निरन्तरता दिएका छन् । 

काठको व्यवस्था भएमा पेशालाई जोगाउँदै आफूले सक्दासम्म मादल बनाउने गन्धर्वको भनाइ छ । उनले बाउ बाजेबाट सीप सिकेर १८ वर्षको उमेरदेखि व्यावसायिक तवरले मादल बनाउन थालेका हुन् । एउटा मादललाई ‘साइज’ हेरेर रु दुई हजारदेखि चारसम्ममा बिक्री गर्ने गरेका छन् । पछिल्लो समय रामपुरमा बस्ती बढ्दै जाँदा विभिन्न ठाउँ ठाउँमा पसलहरू खुलेका छन् । बाहिरबाट तयारी अवस्थामा आएका मादलले पसल ढाकेका छन् । त्यसले गर्दा पनि धेरैको आकर्षण पसलमा राखिएका तयारी मादलमा बढ्दो छ । 

बाहिरबाट बजारमा आएका मादल सस्तो मूल्यमा पाइने भएपछि पनि ग्राहकको अहिले गाउँघरमा हातले कुदेर बनाइएका मादलमा ध्यान गएको पाइँदैन । काठ नपाउँदा पुरानो पेसा जोगाउनै समस्या परेकाले आफूले सीप सिके पनि व्यावसायिक रूपमा अँगाल्न नसकेको गन्धर्वका छोरा बेगबहादुर बताउँछन् । “हातमा सीप छ तर बजार नभएपछि अन्यत्र पेसा व्यवसाय गर्नैपर्यो, कतैबाट काठको व्यवस्थापन भइदिएमा मादल बनाउने पेशालाई नै अगाडि बढाउने धोको छ”, उनेको भनाइ छ । 

अझै पनि केहीले त राम्रो मादल चाहियो भनेर गाउँमै हातले बनाएका मादल खोज्न आउने गरेको उनी बताउँछन् । मादल बनाउने पेसा संरक्षणमा कसैको ध्यान नजाँदा पेसा नै धरापमा पर्न थालेको छ । मादल बनाउने पेसा संरक्षण गर्न आवश्यक सामग्री सहयोगका लागि अहिलेसम्म वडा कार्यालयमा माग नआएको नगरपालिका–८ का अध्यक्ष बमबहादुर नामजाली बताउँछन् । “सम्बन्धित पेसामा आबद्ध व्यक्तिले मादल बनाउने पेशालाई जोगाउँदै यसैबाट आयआर्जन गर्न वडा कार्यालयमा आवश्यक सहयोग माग गरेमा वडा कार्यालयले सहयोग गर्नेछ”, वडा अध्यक्ष नामजालीको भनाइ छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x