
ज्ञानमाण्डू। चालु आ.व.को पहिलो ६ महिनाको सार्वजनिक वित्तीय विवरण अनुसार राष्ट्रिय स्तरका विकास बैङ्कहरू मध्ये सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैङ्कले आर्जन गरेको छ भने समीक्षा अवधिमा सबैभन्दा धेरै प्रतिशेयर आम्दानी महालक्ष्मी विकास बैङ्कको रहेको देखिएको छ ।
नेपालका राष्ट्रिय स्तरका विकास बैङ्कहरूले गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा औसतमा १६.८७ प्रतिशत नाफा वृद्धि गर्न सफल हुँदै कुल ३ अर्ब २० करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा राष्ट्रिय स्तरका विकास बैङ्कहरूको मुनाफा २ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो । नाफामा उल्लेख्य सुधार देखिएका बैङ्कहरूको प्रतिशेयर आम्दानीमा पनि वृद्धि आएको तथ्याङ्कले देखाएको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरणको तथ्याङ्क अनुसार राष्ट्रिय स्तरका विकास बैङ्कहरूको प्रति शेयर आम्दानी औसतमा २१ रुपैयाँ १० पैसा रहेको देखिएको छ। यस अवधिमा ५ वटा बैङ्कको प्रति शेयर आम्दानी औसत भन्दा बढी रहेको छ भने ३ यस्ता बैङ्कको प्रति शेयर आम्दानी औसत सीमा भन्दा कम रहेको देखिएको छ ।

समीक्षा अवधिमा सबैभन्दा धेरै प्रतिशेयर आम्दानी महालक्ष्मी विकास बैङ्कको रहेको छ । महालक्ष्मी विकास बैङ्कको प्रति शेयर आम्दानी २७ रुपैयाँ ३० पैसा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा उक्त बैङ्कको प्रति शेयर आम्दानी २२ रुपैयाँ ५८ पैसा रहेको थियो। उक्त बैङ्कले चालु आ.व.को पहिलो ६ महिनामा ४५ करोड ६२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ।
त्यस्तै, राष्ट्रिय स्तरका विकास बैङ्कहरू मध्ये सबैभन्दा धेरै नाफा गर्न सफल मुक्तिनाथ विकास बैङ्कको प्रति शेयर आम्दानी गत वर्षको तुलनामा थोरै घटेर २१ रुपैयाँ ३० पैसा पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा मुक्तिनाथ विकास बैङ्कको प्रति शेयर आम्दानी २१ रुपैयाँ ७६ पैसा रहेको थियो। मुक्तिनाथ विकास बैङ्कले यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६० करोड २४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१४ प्रतिशतले कम हो।
राष्ट्रिय स्तरका विकास बैङ्कहरू मध्ये सर्वाधिक इपिएसको शीर्षक अन्तर्गत दोस्रो स्थान ओगटेको गरिमा विकास बैङ्कको प्रति शेयर आम्दानी गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा २.७१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पुष मसान्तसम्ममा २४ रुपैयाँ ३१ पैसा प्रति शेयर आम्दानी रहेको गरिमाको इपिएस चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको अन्त्यमा आइपुग्दा २४ रुपैयाँ ९७ पैसा कायम भएको छ। उक्त बैङ्कले चालु आ.व.को पहिलो ६ महिनामा ४९ करोड २९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको तुलनामा २५.२५ प्रतिशतको वृद्धि हो।
त्यसै गरी, चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको अन्त्यमा कामना सेवा विकास बैङ्कको प्रति शेयर आम्दानी २१ रुपैयाँ ८७ पैसा, लुम्बिनी विकास बैङ्कको २१ रुपैयाँ ४२ पैसा, शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको १८ रुपैयाँ ४५ पैसा, साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको १७ रुपैयाँ ३९ पैसा र ज्योति विकास बैङ्कको १६ रुपैयाँ १२ पैसा रहेको छ।
यस अवधिमा राष्ट्रिय स्तरका विकास बैङ्कहरू मध्ये साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले सर्वाधिक नाफा र प्रति शेयर आम्दानी बढोत्तरी गर्न सफल भएको छ। बैङ्कले गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा ५८.८७ प्रतिशतले नाफा र ३७.४७ प्रतिशतले प्रति शेयर आम्दानी बढाएको छ। यता, कामना सेवा विकास बैङ्कको नाफामा ११.८९ प्रतिशतको गिरावट हुँदा प्रति शेयर आम्दानी पनि २८.७९ प्रतिशतले घटेर ३० रुपैयाँ ७१ पैसाबाट २१ रुपैयाँ ८७ पैसा कायम भएको देखिन्छ ।
डिस्क्लेमर: सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।