
चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म आइपुग्दा नेपालका २० वटा वाणिज्य बैङ्कहरूले कूल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैङ्कले बुधवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो अघिल्लो वर्षको सोही अवधिको ४० अर्ब ६८ करोड ३० लाख नाफाभन्दा १.४० प्रतिशतले बढी हो।
समग्र नाफामा वृद्धि देखिए पनि व्यक्तिगत बैङ्कहरूको प्रदर्शनमा उल्लेखनीय भिन्नता देखिएको छ। समीक्षा अवधिमा ११ वटा बैङ्कले नाफा वृद्धि गरेका छन् भने ९ वटाको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ।
नाफाको दौडमा नबिल बैङ्क अगाडि
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नबिल बैङ्क सर्वाधिक नाफा कमाउने बैङ्कको रूपमा अग्रस्थानमा रहन सफल भयो। चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म बैङ्कले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.२१% ले बढी हो।
इन्भेस्टमेन्ट मेगा र ग्लोबल आइएमईको उल्लेखनीय फड्को
नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले यो अवधिमा ४ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३८.६१% को उल्लेखनीय वृद्धि हो। यसै गरी ग्लोबल आइएमई बैङ्कले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गर्दै ३७.१२% नाफा वृद्धिदर कायम गरेको छ।
नाफा वृद्धिमा नेपाल बैङ्कको उत्कृष्ट प्रदर्शन
नेपाल बैङ्कले २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै २०३२.८०% को आश्चर्यजनक वृद्धि हो। यो वृद्धिलाई बैङ्कको पुनर्संरचना, खर्च नियन्त्रण र नीतिगत सुधारसँग जोडिएको मानिएको छ।
अन्य प्रमुख बैङ्कहरूको नाफा स्थिति
एभरेस्ट बैङ्कले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ नाफा कमाउँदै ३२.५५% को उल्लेखनीय वृद्धि गरेको छ भने एनएमबि बैङ्कले २ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गर्दै ५.८८% को वृद्धिदर कायम राखेको छ। यता, प्राइम बैङ्कको नाफा भने २२.५६% ले घटेर २ अर्ब २२ करोड ९३ लाखमा कायम भएको छ।
मध्यम नाफा कमाउने बैङ्कहरू
स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले २ अर्ब १७ करोड ३७ लाख, कृषि विकास बैङ्कले १ अर्ब ८४ करोड ४३ लाख र सिद्धार्थ बैङ्कले १ अर्ब ६६ करोड ८२ लाख नाफा कमाए पनि अघिल्लो वर्षको तुलनामा घटेको छ, भने प्रभु बैङ्कले १ अर्ब ८७ करोड ६० लाख र सानिमा बैङ्कले १ अर्ब ६५ करोड २४ नाफा आर्जन गरेका छन्।
लक्ष्मी सनराइज बैङ्क, नेपाल एसबीआई बैङ्क र माछापुच्छ्रे बैङ्कहरूले नाफा बढाएका छन् भने राष्ट्रिय वाणिज्य बैङ्कको नाफा घटेको छ।
नाफा घटेका बैङ्कहरू
यसबाहेक, सिटिजन्स बैङ्कले ९६ करोड १८ लाख, हिमालयन बैङ्कले ५० करोड, कुमारी बैङ्कले २८ करोड ५८ लाख र एनआईसी एशिया बैङ्कले १५ करोड ६७ लाख नाफा आर्जन गरेका छन् । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा घटेको छ।
क्र.सं. | बैंकको नाम | नाफा (रु) | वृद्धि/गिरावट (%) |
---|---|---|---|
1 | नबिल बैंक | ५ अर्ब ५ करोड १४ लाख | ८.२१% |
2 | इन्भेस्टमेन्ट मेगा बैंक | ४ अर्ब ५४ करोड | ३८.६१% |
3 | ग्लोबल आइएमई बैंक | ४ अर्ब ५३ करोड ४० लाख | ३७.१२% |
4 | एभरेस्ट बैंक | ३ अर्ब ४५ करोड ७६ लाख | ३२.५५% |
5 | नेपाल बैंक | २ अर्ब ७८ करोड ३४ लाख | २०३२.८०% |
6 | एनएमबि बैंक | २ अर्ब ३७ करोड ३२ लाख | ५.८८% |
7 | प्राइम बैंक | २ अर्ब २२ करोड ९३ लाख | -२२.५६% |
8 | स्ट्यान्डर्ड चार्टर्ड बैंक | २ अर्ब १७ करोड ३७ लाख | -११.१७% |
9 | प्रभु बैंक | १ अर्ब ८७ करोड ६० लाख | ३.५१% |
10 | कृषि विकास बैंक | १ अर्ब ८४ करोड ४३ लाख | -१०.१७% |
11 | सिद्धार्थ बैंक | १ अर्ब ६६ करोड ८२ लाख | -०.९४% |
12 | सानिमा बैंक | १ अर्ब ६५ करोड २४ लाख | १४.८०% |
13 | लक्ष्मी सनराइज बैंक | १ अर्ब ६५ करोड २१ लाख | २.२४% |
14 | नेपाल एसबीआई बैंक | १ अर्ब २० करोड ३२ लाख | ३.३६% |
15 | माछापुच्छ्रे बैंक | १ अर्ब १० करोड २६ लाख | २८.८९% |
16 | राष्ट्रिय वाणिज्य बैंक | १ अर्ब २० करोड ४३ लाख | -४९.२९% |
17 | सिटिजन्स बैंक | ९६ करोड १८ लाख | -२०.६०% |
18 | हिमालयन बैंक | ५० करोड | -७४.३३% |
19 | कुमारी बैंक | २८ करोड ५८ लाख | -७२.८५% |
20 | एनआईसी एशिया बैंक | १५ करोड ६७ लाख | -९१.८१% |