वाणिज्य बैङ्कहरूले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । केन्द्रीय बैङ्कबाट 'क' वर्ग को इजाजत प्राप्त कुल २० वटा वाणिज्य बैङ्कहरूको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १३.४० प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ। १० बैङ्कहरूले नाफा बढाएको वित्तीय विवरण प्रकाशित गरेका छन् भने १० वाणिज्य बैङ्कहरूले नाफामा गिरावट आएको विवरण प्रकाशित गरेका छन्।
गत आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैङ्कहरूले ६४ अर्ब १५ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् भने अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको मुनाफा ५६ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो ।
सर्वाधिक नाफा कमाउनेमा नबिल बैङ्क
गत आ.व. मा सबैभन्दा धेरै नाफा नबिल बैङ्कले गरेको छ । बैङ्कले ७ अर्ब ६ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.२३ प्रतिशतले बढी हो ।
त्यसै गरी, ग्लोबल आइएमई बैङ्कले ६ अर्ब १ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैङ्कको गत वर्षको भन्दा १०.१३ प्रतिशतले नाफा घटेको हो । त्यस्तै नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कले गत आर्थिक वर्षमा ५ अर्ब १९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३९.७१ प्रतिशतले बढी हो ।
सबैभन्दा कम नाफा माछापुच्छ्रे बैङ्कको
गत आर्थिक वर्षमा सर्वाधिक कम नाफा कमाउने वाणिज्य बैङ्क माछापुच्छ्रे बैङ्क रहेको छ। उक्त बैङ्कले १ अर्ब २५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.०९ प्रतिशतले कम हो । त्यस्तै, कम नाफा कमाएको सिटिजन्स् बैङ्कले १ अर्ब ३४ करोड रुपैयाँ नाफा गरेको देखिएको छ। उक्त बैङ्कको नाफामा गत वर्षको सोही अवधिको तुलनामा २७.९७ प्रतिशतले गिरावट भएको छ ।
सर्वाधिक नाफा वृद्धि गर्ने प्रभु बैङ्क
गत आर्थिक वर्षमा १० बैङ्कहरूले नाफा बढाएको वित्तीय विवरण प्रकाशित गरेका छन् । सबैभन्दा बढी प्रभु बैङ्कले आफ्नो मुनाफामा वृद्धि गर्न सफल भएको देखिन्छ । बैङ्कले अघिल्लो वर्षको तुलनामा १४९९ दशमलव ०४ प्रतिशतले मुनाफा वृद्धि गरेको हो ।
त्यसै गरी, अघिल्लो वर्षको तुलनामा कुमारी बैङ्कले ३४५.६७ प्रतिशत, प्राइम बैङ्कले २६७.१९ प्रतिशत, कृषि विकाश बैङ्कले १७६.२३ प्रतिशत र हिमालयन बैङ्कले ८१.६० प्रतिशतले नाफा वृद्धि गर्दा नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क, लक्ष्मी सन्राइज बैङ्क, नबिल बैङ्क, एभरेष्ट बैङ्क र नेपाल एसबीआई बैङ्कले पनि नाफा वृद्धि गर्न सफल भएको देखिन्छ।
सर्वाधिक नाफा घटाउने एनआईसी एशिया
१० वाणिज्य बैङ्कहरूले भने अघिल्लो आर्थिक वर्षको तुलनामा नाफामा गिरावट आएको विवरण प्रकाशित गरेका छन्। तथ्याङ्क अनुसार सबैभन्दा धेरै नाफा घटाउनेमा एनआईसी एशिया बैङ्क देखिएको छ । बैङ्कको मुनाफामा ६८.९१ प्रतिशतले गिरावट आएर १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैङ्कले ४ अर्ब ४४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो।
त्यस्तै, धेरै नाफा घटाएका नेपाल बैङ्क, सिटिजन्स बैङ्क, एनएमबि बैङ्क, माछापुच्छ्रे बैङ्कको नाफा अघिल्लो वर्षको तुलनामा क्रमशः ५१.८०, २७.९७, २७.४९, र २३.०९ प्रतिशतले घटेको छ।
वाणिज्य बैङ्कहरूको नाफामा १३.४० प्रतिशतको वृद्धि, कुल नाफा ६४ अर्ब अधिक, कुन बैङ्कको कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
