नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ पुस ३, २०८१ देखि लागू गरेको छ। यस नियमावलीले साना र मझौला कम्पनीहरूको लागि आईपीओ प्रक्रिया सहज र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न नयाँ प्रावधानहरू ल्याएको छ।
नियमावलीका प्रमुख विशेषताहरू
-
इन्डेक्सको विकास
सेबोनले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएससीलाई साना कम्पनीहरूको सेयर कारोबारको लागि छुट्टै प्लेटफर्म वा इन्डेक्स निर्माण गर्न निर्देशन दिएको छ। यसले साना र ठूला कम्पनीहरूलाई अलग-अलग वर्गमा राखेर तिनीहरूको कारोबारलाई व्यवस्थित गर्ने योजना ल्याएको हो।
-
साना कम्पनीहरूको लागि सजिलो आईपीओ प्रक्रिया
अब २५ करोड रुपैयाँसम्म चुक्तापुँजी भएका कम्पनीहरूले आईपीओ निष्काशनका लागि छुट्टै प्रक्रिया अपनाउनु पर्नेछ। यसमा, कम्पनीले आफ्नो चुक्तापुँजीको ३० प्रतिशतदेखि ४९ प्रतिशतसम्म सेयर सार्वजनिक निष्काशन गर्न सक्छ।
-
नयाँ नियमावलीमा ५०० कित्ताको आवेदन अनिवार्य
अब साना कम्पनीहरूको आईपीओमा आवेदन दिनका लागि न्यूनतम ५०० कित्ताको आवेदन अनिवार्य हुनेछ। यसले सेयरको वितरणमा पारदर्शिता ल्याउने र साना लगानीकर्ताहरूलाई पनि सेयर बजारमा सहभागी बनाउने अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।
-
आईपीओ बिक्रीमा अनिवार्य बिक्री प्रबन्धक र योग्य संस्थागत लगानीकर्ता
सेयर निष्काशनमा ५ प्रतिशत बिक्री प्रबन्धक र १५ प्रतिशत योग्य संस्थागत लगानीकर्ताले खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, यी सेयर तीन वर्षसम्म बिक्री गर्न सकिँदैन।
साना कम्पनीहरूको लागि ठूलो अवसर
यस नियमावलीले साना र मझौला कम्पनीहरूलाई सेयर बजारमा सहभागी हुनका लागि नयाँ अवसर प्रदान गर्नेछ। साना कम्पनीहरूले अब प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न सक्ने छन्, र तीन वर्षसम्म नाफा कमाउने कम्पनीहरूले यस अवसरलाई अधिकतम उपयोग गर्न सक्छन्। यसले नेपालको सेयर बजारमा नयाँ प्रकारका कम्पनीहरूको सहभागिता र प्रतिस्पर्धा बढाउने विश्वास गरिएको छ।
यसका साथै, यस नयाँ नियमावलीले बजारमा अस्वभाविक उतारचढावलाई नियन्त्रण गर्न र साना कम्पनीहरूको वित्तीय वृद्धिमा मद्दत पुर्याउने अपेक्षासमेत गरिएको छ।