पछिल्लो समय कैलालीमा क्रिकेट, फुटबललगायत खेलकुदका प्रतियोगिताहरू आयोजना हुन थालेका छन् । विभिन्न समयमा यसरी जिल्लामा खेल प्रतियोगिता हुन थालेसँगै युवामा खेलप्रति आकर्षण बढ्दै गएको छ ।
ठुला धनराशिका खेलहरू आयोजना हुने कैलालीमा यति बेला घोडाघोडी नगरपालिकामा ‘जिल्ला लिग फुटबल’ प्रतियोगिता भइरहेको छ । जिल्ला लिग फुटबल सङ्घका अध्यक्ष अनिल मल्लले फुटबल खेल र खेलाडीको निरन्तर विकासका लागि प्रतियोगिता हुँदै आएको बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले खेलकुदको क्षेत्रमा भविष्य निर्माण गर्न चाहने युवाका लागि अवसर र उत्प्रेरणा पुग्ने विश्वास लिइएको बताउनुभयो ।
धार्मिक र पर्यापर्यटनका दृष्टिले महत्त्वपूर्ण रहेको घोडाघोडीको पहिचान, प्रवर्द्धन तथा प्रचारप्रसारमा यो प्रतियोगिताले थप सहयोग पुग्ने घोडाघोडी नगरपालिकाका प्रमुख खड्क रावतले बताउनुभयो । पछिल्लो समय युुवाहरु लागु औषध दुुव्र्यसनीमा फसिरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “युुवाहरुलाई खेलकुदमा लाग्ने उत्प्रेरणा दिन सके दुर्व्यसनी न्यूनीकरण भई स्वस्थ र भयरहित समाजको निर्माणमा टेवा पुग्छ ।”
एक पछि अर्को प्रतियोगिता आयोजना हुने कैलालीमा गत फागुनमा गौरीगङ्गा गोल्ड कप सम्पन्न भएको थियो । सो प्रतियोगिताको मुख्य उद्देश्य योग्य र दक्ष व्यावसायिक खेलाडी उत्पादन गर्ने र युवालाई खेल क्षेत्रसँगै जोडिराख्ने रहेको थियो ।
गौरीगङ्गा–११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले खेलकुदको विकासका लागि रङ्गशाला निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । “हामीले निरन्तर रूपमा फुटबल प्रतियोगिता गरिरहेका छौँ । युवाहरूको खेलकुदप्रति निकै आकर्षण हुनुका साथै खेलको वातावरण पनि बन्दै गएको छ”, उहाँले भन्नुभयो, “खेल अभ्यासका लागि यहाँ रङ्गशाला नहुँदा खेलकुदमा लाग्न चाहनेलाई समस्या भइरहेको छ । खेलकुदका माध्यमबाट राष्ट्रिय र अन्तराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य हो । त्यसका लागि सर्वप्रथम राम्रो खेलमैदान चाहिन्छ ।”
कैलालीको धनगढीमा गत मङ्सिरमा लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना भयो । यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा ठुलो टेवा पुगिरहेको लिटिल फ्लावर स्पोर्टस क्लबका अध्यक्ष रामचन्द्र शाहीले बताउनुभयो । “हामीले प्रत्येक वर्ष आयोजना गर्ने प्रतियोगिताले धेरै खेलाडी उत्पादन भएका छन्”, उहाँले भन्नुभयो, “भुईँबाट उठेका खेलाडी अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल खेलिरहेका छन् ।” उहाँका अनुसार सरकारले खेल क्षेत्रमा लगानी बढाउन सके कैलालीबाट उत्कृष्ट खेलाडी उत्पादन हुन सक्छन् ।
“कैलालीका गाउँ गाउँमा योग्य खेलाडी छन् । उनीहरूले अवसर पाउन सकेका छैनन्”, हाल राष्ट्रिय क्रिकेट टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने खेलाडीको स्मरण गर्दै अध्यक्ष शाहीले भन्नुभयो, “सुदूरपश्चिममा सरकारले खेलकुदका क्षेत्रमा लगानी बढाउन सके भविष्यमा अझ योग्य खेलाडीहरू जन्मिन्छन् ।”
जिल्लामा क्रिकेटभन्दा धेरै फुटबल प्रतियोगिता आयोजना हुने गरेका छन् । प्रत्येक वर्ष ठुला धनराशिका चार वटा र साना प्रतियोगिता १० भन्दा बढी आयोजना हुने गरेका छन् ।
खप्तड गोल्ड कप, फार वेस्ट पशुपति कप, गौरीगङ्गा गोल्ड कप, पालिका स्तरीय मुख्यमन्त्री फुटबल प्रतियोगिताले कैलालीमा फुटबलको ‘क्रेज’ बढाउन अझै मद्दत गर्दै आएको छ । छैटौँ फार वेस्ट पशुपति कप २०८० र बर्दगोरियामा सम्पन्न प्रथम मुख्यमन्त्री पालिकास्तरिय फुटबल प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा टेवा पुगेको फारवेष्ट पशुपति कपका आयोजक खेम रावतले बताउनुभयो । सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिई लगानी बढाउन सके कैलालीबाटै उत्कृष्ट खेलाडीहरू उत्पादन हुन सक्ने उहाँको भनाइ छ ।
रावतकै कप्तानीमा विसं २०६८ मा धनगढीमा आयोजित छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबलतर्फ सुदूरपश्चिमले स्वर्णपदक जितेको थियो । सर्वाधिक धनराशिको खप्तड गोल्ड कप प्रतियोगिता भने यस वर्ष हुन सकेन ।
प्रदेशमा आयोजना हुने ठुला साना सबै प्रतियोगितामा दर्शकको उपस्थिति निकै उत्साहजनक हुने आयोजकको भनाइ छ । आम नागरिकमा खेलप्रति बढेको रुचीले खेलाडीहरू पनि उत्साहित भएका छन् । खेलमा युवाको आकर्षण बढेसँगै खेलकुदका संरचना र खेल क्षेत्रमा राज्यको लगानीको कमी हुँदा खेलाडीलाई हतोत्साहित बनाउने गरेको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले उक्त समस्या समाधानमा लागि ‘एक निर्वाचन क्षेत्र एक खेल मैदान’ भन्ने कार्यक्रम ल्याइएको बताउनुभयो । खेलाडीलाई अगाडि बढाउने दायित्व स्थानीय तहको पनि भएकाले पालिकाले स्थानीय तहमा खेल मैदान निर्माण गर्न बजेट विनियोजन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
खेल शारीरिक, मानसिक स्वास्थ्य र अनुशासित जीवनशैलीसँग जोडिएकाले युवालाई खेलमार्फत अगाडि बढाउन सके स्वस्थ र जिम्मेवार नागरिक निर्माणमा सहयोग पुग्ने सचिव सिंहको भनाइ छ । “पछिल्लो समयमा युवा कि मोबाइल, नभए लागु पदार्थ दुुव्र्यसनीमा फसिरहेका छन् । युवालाई यस्ता कुलतबाट जोगाउनु हामी सबैको दायित्व हो”, उहाँले भन्नुभयो, “उनीहरूलाई खेलकुदमा प्रेरित गर्न स्थानीय तहलगायत सबैले आआफ्नो तर्फबाट जोड दिनुपर्छ ।”
हरेक स्थानीय तहले कम्तीमा एक खेलमैदान र एक खेल प्रशिक्षकको व्यवस्था गर्न सके खेलमा रुचि भएका योग्य खेलाडी मुलुकले पाउने सचिव सिंहले बताउनुभयो । अभ्यास गर्ने स्थान र सिकाउने प्रशिक्षकको व्यवस्था गर्न सके गाउँ गाउँमा रहेका खेलाडीको पहिचान, निरन्तर अभ्यास र उत्कृष्ट खेलाडी छनोटमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
 
कैलालीमा खेलकुदप्रति आकर्षण बढ्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    