बुङ्गल हाइड्रो लिमिटेडले आज भदौ १६ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १७ लाख १ हजार ५०० कित्ता शेयर निष्काशन गर्दैछ। यस आईपीओमा छिटोमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ भने पूरा आवेदन नपुगेको खण्डमा समयसीमा बढाएर भदौ ३० गतेसम्म खुला रहनेछ।
कम्पनीको जारी पूँजी ८३ करोड रुपैयाँ रहेको छ। यसमध्ये ३५ प्रतिशत अर्थात २९ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्ने योजना छ। यसअन्तर्गत ८ लाख ३० हजार कित्ता शेयर परियोजना प्रभावित बाजुरा जिल्लाका स्थानीयलाई छुट्याइएको थियो। बाँकी २० लाख ७५ हजार कित्ता शेयर सर्वसाधारण समूहलाई दिइनेछ।
सर्वसाधारण समूहभित्र २ लाख ७ हजार ५०० कित्ता विदेशमा रोजगारी गर्ने नेपाली, ६२ हजार २५० कित्ता कर्मचारी र १ लाख ३ हजार ७५० कित्ता म्युचुअल फण्डका लागि छुट्याइ बाँकी १७ लाख १ हजार ५०० कित्ता शेयर भने सर्वसाधारणका लागि आजदेखि खुला भएको हो।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
आईक्रा नेपालले बुङ्गल हाइड्रोलाई दीर्घकालीन ऋण दायित्वका लागि [ICRANP] LB- र अल्पकालीन दायित्वका लागि [ICRANP] A4 रेटिङ प्रदान गरेको छ, जसले कम्पनीमा उच्च जोखिम रहेको सङ्केत गर्छ।
बुङ्गल हाइड्रो लिमिटेड सन् २०१६ जुन १३ मा स्थापना भएको हो। कम्पनीले बाजुरा जिल्लामा १०.७ मेगावाट क्षमताको अपर सानिगाड जलविद्युत् आयोजना निर्माण गर्दै आएको छ। करिब २ अर्ब ८६ करोड रुपैयाँ लागतमा बन्ने यो आयोजना ७५:२५ ऋण–पूँजी अनुपातमा सञ्चालन भइरहेको छ। कम्पनीको प्रमुख लगानीकर्तामा जलाञ्जली इनभेष्टमेन्ट (२८%), बरुण इनभेष्टमेन्ट (१४%), जय गणेश इनभेष्टमेन्ट (१३%), शिवशंकर इनभेष्टमेन्ट (१२%), र बुङ्गल हाइड्रो इनभेष्टमेन्ट (१२%) रहेका छन् भने बाँकी २१ प्रतिशत अन्य लगानीकर्ताले ओगटेका छन्।