कैलालीमा दश महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता

कैलालीमा चालु आर्थिक वर्षको १० महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग नयाँ दर्ता भएका छन् । एक सय ३० उत्पादनमूलक, दुई सय ९६ कृषि र दुई सय ३५ सेवामूलक गरी छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता भएका कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले बताउनुभयो ।

पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्य रूपमा बढ्दै गएको पाइएको छ । महिलाको नाममा निजी फर्म दर्तामा छुटको व्यवस्था भएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढ्दै गएको कार्यालयले जनाएको छ ।

कैलालीमा हालसम्म १५ हजार चार सय ९६ उद्योग दर्ता भएका छन् । कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा उत्पादनमूलक तीन हजार दुई सय १५, कृषिमूलक छ हजार पाँच सय १७, निर्माणका दुई, पर्यटनमूलक ६५, सूचना प्रविधि १२, सेवामूलक पाँच हजार छ सय ८५ उद्योग दर्ता भएका छन् । दर्ता उद्योगमध्ये एक सय ३७ उद्योगको दर्ता खारेज भएको जनाइएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योग सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका हुन् । कार्यालयमा गएर आधिकारिक रूपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका ती उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत जोशीको भनाइ छ ।

साना उद्योग कार्यालयमा दर्ता भएका १५ हजार चार सय ९६ उद्योगमा रु २५ अर्ब लगानी प्रस्ताव गरिएको छ । यसै गरी चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा घरेलु तथा साना उद्योग कार्यालयले रु एक करोड ४४ लाख ९७ हजार राजस्व सङ्कलन गरेको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्ष २०७९/८० मा सो कार्यालयले रु ५२ लाख १६ हजार राजस्व सङ्कलन गरेको थियो । वाणिज्य तथा आपूर्ति कार्यालयले तीन हजार छ सय ७६ व्यावसायिक फर्म घरेलु तथा साना उद्योग कार्यालयलाई हस्तान्तरण गरेका कारण गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा राजस्व सङ्कलनमा वृद्धि भएको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x