पर्यटक तान्दै मोटर बोट

नेपालका नदीमा पहिलो पटक ‘मोटर बोट’ चलेको सायद साढे पाँच दशकअघि हो । सन् १९६८ मा एड्मन्ड हिलारीले हेमिल्टन नामका दुई वटा मोटर बोट कोशी र गण्डकी नदीसम्म ल्याउनुभएको थियो । तत्कालीन समयमा यी बोट यातायात तथा ढुवानी प्रयोजनका लागि ल्याइएको थियो । हिलारीले केही समय नेपालका नदीमा ती मोटर बोट चलाएपछि स्वदेश फर्कनुअघि तत्कालीन भरतपुर गाउँ पञ्चायतलाई उपहार दिनु भएको थियो ।

उपहारमा प्राप्त ती बोटलाई भरतपुर गाउँ पञ्चायतले केही समय विदेशी पाइलट राखेर सञ्चालन गर्‍यो पनि । तर पछि मर्मत सम्भार लगायतका समस्याले यी बोट सञ्चालनमा निरन्तरता भएन । केही समयपछि तीनै बोट भाडामा लिएर कोशी नदीमा चलाइयो ।

त्यसपछि लामो समयसम्म नेपालका नदीमा मोटर बोट खासै चलेनन् । फाट्टफुट्ट भने ढुवानी वा यातायातका रूपमा सञ्चालन भने भएका थिए । पछिल्लो एक दशकयता नेपालका यिनै मोटर बोट पर्यटकीय गतिविधि बढाउने माध्यम बनेका छन् । अहिले कैयौँ नदी तथा जलाशयमा मोटर बोट हुइँकिएको देखिन्छ । पूर्वमा कोशीदेखि पश्चिममा सुर्खेतको बुलबुल तालसम्म मोटर बोट सञ्चालन भइरहेको छ । मोटर बोट सञ्चालनमा आएसँगै ती क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ ।

नेपालमा मोटर बोट पर्यटनको सुरुआत गर्ने श्रेय व्यवसायी राजकुमार श्रेष्ठलाई जान्छ । चितवनको ठिमुरामा लभ्ली रिसोर्ट सञ्चालन गर्नुभएका उहाँले नारायणी नदीमा पहिलो पटक मोटर बोट सञ्चालन गरी पर्यटकलाई आकर्षित गर्नुभएको थियो । उहाँले जापानबाट दुई वटा जेट स्की र एउटा जेट बोट ल्याएर नारायणी नदीमा सेवा सुरु गर्नुभएको थियो । उहाँकै सिको गरेर पछि अन्य कम्पनी पनि थपिए । तर पछि यसले पनि निरन्तरता पाउन सकेन ।

सन् २०१६ मा लमजुङका विष्णुबहादुर ढकालले नेपाल सीप एण्ड बोट बिल्डिङ कम्पनी स्थापना गरेपछि भने मोटर बोट पर्यटनले पुनर्जीवन मात्र पाएन देशैभर फैलिएको छ । “हाम्रो कम्पनीले नेपालमै मोटर बोट उत्पादनका साथै मर्मत सम्भारका लागि प्राविधिक जनशक्ति तयार पारेपछि मोटर बोट सञ्चालन गर्नेहरू बढे”, ढकालले भन्नुभयो, “पछिल्लो समय हामीले जनशक्ति पनि उत्पादन सुरु गरेका छौँ, हाल हाम्रो कम्पनीबाट मोटर बोट उत्पादन गरी सञ्चालन गर्ने कम्पनीहरू बढेका छन् ।”

ढकालका अनुसार नेपालमा मोटर बोट पर्यटनको ठुलो सम्भावना छ । नेपालका कैयौँ नदी र जलाशयमा मोटर बोट सञ्चालन गरी पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने अवस्था बनेको छ । केही स्थानीय सरकारले त आफूकहाँ भएका नदी र जलाशयमा मोटर बोट सञ्चालनका लागि सहजीकरण गर्दै सो क्षेत्रको पर्यटन गतिविधि बढाएका छन् । भरतपुर महानगरपालिका, बागमती नगरपालिका, आबुखैरेनी गाउँपालिका तथा वीरेन्द्रनगर नगरपालिकाले आफ्नै अग्रसरतामा पर्यटनको प्रवर्द्धनमा मोटर बोट सञ्चालन गरेको उहाँको भनाइ छ ।

ढकालका शब्दमा कोशी नदीमा यातायात र ढुवानीका हिसाबले मोटर बोट सञ्चालन राम्रो मानिए पनि नारायणी नदी र मर्स्याङ्दी जलायशमा मोटर बोट सञ्चालन गरी पर्यटक आकर्षित गर्न राम्रो देखिएको छ । उहाँका अनुसार भरतपुर महानगरपालिकाले मोटर बोट सञ्चालनका कारण मनोरञ्जन करबाट मात्रै वार्षिक औसत रु ५० लाख सङ्कलन गर्दै आएको छ । यसबाट स्थानीय सरकारको राजस्व समेत बढेको छ ।

“सफा पानी, पर्याप्त लम्बाइ भएकाले मर्स्याङ्दी जलविद्युत् आयोजनाको जलायश मोटर बोट सञ्चालनका लागि राम्रो छ, यस्तोमा मोटर बोट गतिविधि उत्कृष्ट मानिन्छ”, उहाँले भन्नुभयो । त्यसबाहेक नेपालगन्जको वाटर पार्कमा बोट राइडिङकै कारण भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।

भरत ताल र नारायणी नदीमा पनि मोटर बोटकै कारण पर्यटक बढेका छन् । पछिल्लो समय सुर्खेतको बुलबुले तालमा मोटर बोट सञ्चालनमा आएपछि तालको स्वरूप नै फेरिएको छ । चितवनको देवघाटमा रहेका विभिन्न कुण्ड घुम्न पनि मोटर बोट माध्यम बनेको छ । त्यसबाहेक भरतपुरको शिवघाट, सिन्धुलीको खुर्कोटलगायतमा मोटर बोट चलिरहेको छ । बर्दियाको राजापुरमा बोट चढेर डल्फिन हेर्न पाइन्छ । मोटर बोटका गतिका कारण पानीको छाल निस्कँदा डल्फिन आउने गरेका छन् । यसले सो क्षेत्रको पर्यटकीय गतिविधि बढाएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बोटेबोरा कम्पनीसँगको सहकार्यमा बुलबुल तालमा मोटर बोट सञ्चालनमा ल्याएपछि तालको स्वरूप मात्रै फेरिएको छैन, आम्दानीको नयाँ स्रोत पनि थपिएको छ । लामो समयदेखि जलकुम्भी र फोहोरले भरिएको तालको अस्तित्व सङ्कटमा परेको अवस्थामा फोहोर सफा गरी बोटेबोरा कम्पनीले मोटर बोट सञ्चालनमा ल्याएको छ । कम्पनीले बुलबुले तालमा मोटर बोट सञ्चालन गरेबापत वीरेन्द्रनगर नगरपालिकालाई वार्षिक रु १३ लाख बुझाउने सम्झौता गरेको छ ।

वीरेन्द्रनगरपालिका नगर विकास समितिका सदस्य तथा बुलबुले ताल संरक्षण उपसमितिका संयोजक नवराज गुरुङले तालबाट फोहोर निकालेपछि पानीको सतह कम भएको र नगरपालिकाको सहकार्यमा केही माथि पट्टी रहेको दश धाराबाट रातिको समयमा पानी ल्याइएको बताउनुभयो । मोटर बोट सञ्चालनपछि बुलबुले ताको स्वरूप फेरिएको उहाँको भनाइ छ ।

तालमा कम्पनीले नेपालकै पहिलो र ठुलो मोटर बोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुई वटा फिस्टेल ब्राण्डका मोटर बोटमार्फत सेवा सुरु गरेको छ । साथै, बोटेबोरा कम्पनीले नेपालगन्ज उपमहानगरपालिकासँगको समन्वयमा वार्षिक रु २५ लाख बुझाउने गरी वाटर पार्कमा मोटर बोट सञ्चालन गरिरहेको छ ।

पछिल्लो समय मोटर बोट सञ्चालनमा आकर्षण देखिनुमा बागमती नगरपालिकामा रहेको भरत तालमा मोटर बोट सञ्चालन हुनु पनि हो । सुरुमा माछा पालनका लागि बनाइएको पोखरीलाई तालमा परिणत गरिएपछि मोटर बोट सञ्चालन गरिएको थियो । मोटर बोटकै कारण उक्त क्षेत्रको पर्यटकीय गतिविधि मात्रै बढेको छैन, सयौँ जनाले रोजगारी पनि पाएका छन् ।

बागमती नगरपालिकाका उपप्रमुख लिलाकुमारी मोक्तानका अनुसार भरत तालमा मोटर बोट सञ्चालनका कारण धेरैले रोजगारी पाएका छन् भने यसबाट पालिकाको आम्दानी पनि बढेको छ । “हाल ३० भन्दा मोटर बोट सञ्चालन भइरहेका छन्, ताल आसपासमा विभिन्न होटेल, रेस्टुराँ तथा पसल सञ्चालन भइरहेका छन् । सामान्य दिनमा औसतमा दुई हजार र मेलापर्व र बिदाका दिनमा पाँच हजारसम्म पर्यटक आउने गरेका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार मोटर बोट सञ्चालनबाट नगरपालिकाले २० प्रतिशत शुल्क लिने गरेको छ ।

त्यसो त स्याङ्जाको मिर्मीदेखि सेतिबेनीसम्मको बाँधमा यातायातका रूपमा स्टिमर भनिने मोटर बोट सञ्चालन लामो समयदेखि भइरहेको छ । नेपाल सीप एण्ड बोट बिल्डिङ कम्पनीका सञ्चालक ढकालले मोटर बोटलाई पर्यटकीय मनोरञ्जनका साथै यातायातको साधनका रूपमा सञ्चालन गर्न सकियो भने निकै ठुलो फाइदा लिन सकिने धारणा राख्नुहुन्छ । “अहिले नदी र जलाशयमा मोटर बोट बढी सञ्चालन भइरहेका छन् । मनोरञ्जनका हिसाबले राम्रो पनि हो तर यसको बढी उपयोग ढुवानी वा यातायातका रूपमा गर्न सकिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार भारतको कलकत्तादेखि चितवनको दास ढुङ्गासम्मको रुटमा १० टनसम्मको जहाज सजिलै ल्याउन सकिन्छ । यसो गर्न सकिएमा भने ढुवानी खर्च निकै कम हुन्छ ।

उहाँका अनुसार हिजोका दिनमा नेपालमा जल पर्यटनसम्बन्धी गतिविधिमा र्याफ्टिङ मात्रै रहेकामा अहिले मोटर बोट थपिएपछि पर्यटकीय गतिविधि बढेको छ । आगामी दिनमा यसैका आधारमा विभिन्न पर्यटकीय गतिविधि पनि सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । “हिजोका दिनमा विदेशमा गएर गरिने ‘वाटर स्पोर्टस्’का गतिविधिहरू आगामी दिनमा नेपालमै पनि गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “यसका लागि कैयन सम्भावना छन् ।”

जलाशयमा डुङ्गा चलाउँदा सामान्य अनुभव मात्रै प्राप्त हुने र मोटर बोटको प्रयोग तथा अन्य गतिविधि गर्दा वास्तवमै साहसिक जल पर्यटन हुने उहाँको भनाइ छ । “मोटर बोटमार्फत गरिने गतिविधिमा हावा, पानी र गतिको सम्मिश्रण हुन्छ । यसले खेललाई साहसिक बनाउँछ ।”

उहाँ हामीकहाँ भएका जलाशयहरू विद्युत् उत्पादनमा मात्रै प्रयोग भइरहेको भन्दै त्यही जलाशयमा मोटर बोट सञ्चालन गरी थप आर्थिक गतिविधि बढाउन सकिने धारणा राख्नुहुन्छ । “विदेशमा रु पाँच हजारमा गर्ने गतिविधि आजका दिनमा एक प्लेट ममःमा हुने खर्चमै हामीले उपलब्ध गराइरहेका छौँ”, उहाँले भन्नुभयो, “रन अफ रिभरमा औसतमा रु दुई सय ५० देखि तीन सय ५० सम्ममा अनुभव लिन सकिन्छ ।”

नेपालमै बन्छ बोट
नवलपरासीको गैँडाकोटमा रहेको नेपाल सीप एन्ड बोट बिल्डिङ कम्पनीले पछिल्लो एक दशकयता बोट निर्माण गर्दै आएको छ । “हामीले नेपालका नदीहरूको बहाव, पानीको गहिराइ, खोलाको गतिको अध्ययन गरिसकेका छौँ, सोहीअनुसार बोट उत्पादन गर्छौ”, कम्पनीका अध्यक्ष ढकालले भन्नुभयो ।

उहाँका अनुसार कम्पनीले जापानको सुजुकी मरिन कम्पनीले उत्पादन गर्ने इन्जिन र प्रविधि प्रयोग तथा मेकानिकल स्टेरिङ प्रणालीका लागि अमेरिकाको मल्टिफेलेसको प्रणाली प्रयोग गरी बोट उत्पादन गर्दै आएको छ । उहाँका अनुसार एउटा बोट उत्पादनका लागि सामान्यतया: औसतमा रु २० लाख पर्छ । त्यसबाहेक ग्राहकको रुचि र आवश्यकताका आधारमा यसको खर्च थपघट हुनसक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x