ज्ञानमाण्डू ।इन्ग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा शीर्ष स्थानमा रहेको लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले घरेलु टिमसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको ३६ औँ मिनेटमा मार्कस रासफर्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ४४ औँ मिनेटमा लिभरपुलका साडियो मानेले गरेको गोलालाई ह्यान्डबल भएका कारण भिडियो असिस्टेन्ट रेफरी (भीएआर)ले उक्त गोललाई मान्यता नदिँदा लिभरपुल पहिलो हाफमा गोल रहित भएको थियो ।
दोस्रो हाफ, खेल सकिन ५ मिनेट बाँकी रहँदा लिभरपुलका लागि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका एडम लाल्लानाले बराबरी गोल फर्काएका थिए । थप समयमा गोल हुन नसक्दा खेल १-१ को बाराबारीमा समाप्त भएको थियो ।
बराबरीपछि लिभरपुलले ९ खेलबाट २४ अङ्कसहित शीर्ष स्थानमा छ । अघिल्ला ८ खेल जितेको लिभरपुलको यो पहिलो बराबरी हो । ९ खेलबाट १० अङ्क जोडेको युनाइटेड १३ औँ स्थानमा छ ।