ज्ञानमाण्डू।काठमाडौँ महानगरपालिकाले बौद्ध परियत्ति शिक्षाका लागि रु २३ लाख ६५ हजार आर्थिक सहयोग गरेको छ । अखिल नेपाल भिक्षु महासङ्घद्वारा सञ्चालित सो शिक्षाको पाठ्य सामग्री छपाइ, दीक्षान्त समारोह तथा नैतिक आचरण शिक्षा लगायतमा सहयोग गरेको हो ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले महासङ्घका अध्यक्ष भिक्षु मैत्री महास्थवीरलाई आइतबार सो रकम हस्तान्तरण गरेका छन् । महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको स्तरोन्नतिका गर्न रु १३ करोड बजेट महानगरले विनियोजन गरेको छ । सो रकम सामुदायिक विद्यालय हाताभित्र वृक्षारोपण, खेल मैदान, रङ्ग रोगन, शौचालय र खानेपानीको व्यवस्थापन गर्नेलगायतमा खर्च हुने जनाइएको छ ।
सो अवसरमा प्रमुख शाक्यले सहयोगको रकम सदुपयोग हुनेमा आफू आशावादी रहेको बताए । महासङ्घका अध्यक्ष महास्थवीरले कामपाले गरेको आर्थिक सहयोग अहिलेसम्म प्राप्त भएको सबै ठुलो राशिको भएको जनाउँदै परियत्ति शिक्षाका लागि यसले थप ऊर्जा प्राप्त भएको जनाए ।
“स्थापनाको करिब ५६ वर्षपछि हामीलाई कामपा यति ठुलो आर्थिक सहयोग गरेर हामीलाई निकै ठुलो गुण लगाएको छ”, महास्थवीरले भने, “यो आर्थिक सहयोगले कामपा क्षेत्रभित्र रहेका २० वटा केन्द्र मात्र होइन मुलुकभरि नै रहेका हाम्रा ११५ बढी केन्द्रमै परियत्ति शिक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।” ५६ वर्ष इतिहास बोकेको यस संस्थानमा हरेक वर्ष परियत्ति शिक्षाका लागि पाँच हजार बढीले आवेदन दिने गरेका छन् । गौतमबद्धको उपदेश तथा असल आचरणसहितको शिक्षा दिने ध्येयले संस्थाको स्थापना भएको हो ।रासस