ज्ञानमाण्डू।वेदव्यासको जन्मभूमि दमौलीलाई सनातन धर्म संस्कृतिको अन्तर्राष्ट्रिय केन्द्र बनाउने उद्देश्यले आयोजना गर्न लागिएको महासम्मेलनको तयारी तीव्र पारिएको छ । विश्व हिन्दु महासङ्घ नेपाल केन्द्रीय समितिको आयोजनामा आगामी चैत १ देखि ४ गतेसम्म दमौलीमा अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना हुँदै छ ।
नेपालका सम्पूर्ण जाति, जनजातिको मौलिक धर्म, संस्कृति र सभ्यताको संरक्षण संवर्द्धन गर्न अभिप्रेरित गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक बनाउने उद्देश्यसहित ‘सनातन धर्म संस्कृति’ विषयक अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीले जानकारी दिए । “व्यास भूमि दमौलीलाई ओमकार परिवारको अन्तर्राष्ट्रिय तीर्थस्थलका रूपमा परिचित गराउँदै नेपालका सम्पूर्ण जातजातिको धर्म संस्कृति संरक्षण गर्नु हामी सबैको कर्तव्य हो,” अधिकारीको भनाइ छ ।
अन्तर्राष्ट्रिय महासम्मेलनमा विभिन्न २४ देशका प्रतिनिधिको सहभागिता रहने महासङ्घका वरिष्ठ उपाध्यक्ष भरतराज पौडेलले जानकारी दिए । उनका अनुसार महासम्मेलनमा भारतबाट एक सय, श्रीलङ्का, मालदिभ्स, बङ्गलादेशलगायतबाट ५०, युरोप, अमेरिका ५० र नेपालबाट ३०० प्रतिनिधिको सहभागिता रहनेछ । भारतको २२ राज्यबाट तीनदेखि पाँच जनासम्म प्रतिनिधि आउने सुनिश्चित भइसकेको पौडेलले बताए ।
महासम्मेलनको पहिलो दिन विशाल धार्मिक सांस्कृतिक र्याली, दोस्रो दिन नेपालका तर्फबाट कार्यपत्र, विभिन्न देशका प्रतिनिधिबाट कार्यपत्र प्रस्तुत हुने र कार्यपत्रमाथि छलफल गर्ने कार्यक्रम रहेको छ । तेस्रो दिन विभिन्न धार्मिक सङ्घसंस्थाका प्रतिनिधि, सन्त, महात्माद्वारा प्रवचन, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिनिधिका बिचमा आन्तरिक, वैचारिक मन्थन, विचार–विमर्शसहित दमौली घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको महासङ्घका आमन्त्रित केन्द्रीय सदस्य डम्बरबहादुर अधिकारीले जानकारी दिए । महासम्मेलनको अन्तिम दिन विभिन्न देशबाट आएका अतिथिलाई पोखराका धार्मिक क्षेत्रको भ्रमण गराइनेछ ।
छिम्केश्वरीमा पर्यटन महोत्सव:
जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीमा पर्यटन महोत्सव हुने भएको छ । छिम्केश्वरी माई र छिम्कालेकको प्रवर्द्धनका लागि आँबुखैरेनी गाउँपालिकाले पर्यटन महोत्सव गर्न लागेको हो । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा पर्यटन महोत्सव गर्न लागिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए । महोत्सव सञ्चालनका लागि तयारीसमेत सुरु गरिएको छ ।
छिम्केश्वरीमा प्रत्येक वर्षको फागु पूर्णिमामा मेला लाग्दै आएको छ । यस वर्ष भने सोही मेलालाई पर्यटन महोत्सवको रूप दिन लागिएको अध्यक्ष थापाले बताए । पर्यटन महोत्सव फागुन २५ देखि २७ गतेसम्म सञ्चालन हुनेछ । “पर्यटन महोत्सवले आँबुखैरेनीका पर्यटकीय स्थलको प्रवर्द्धन गरी स्थानीयवासीको आयआर्जनमा सहयोग पुग्ने विश्वास लिएका छौँ,” अध्यक्ष थापाको भनाइ छ ।
धार्मिक एवं ऐतिहासिक स्थलको भ्रमण तथा दर्शन, विविध सांस्कृतिक कार्यक्रमसहित घर वास भ्रमण, पदयात्रा, स्थानीय एवं राष्ट्रिय कलाकारको प्रस्तुति, स्थानीय कृषिजन्य उपजको प्रदर्शनी, जडीबुटी प्रदर्शनी, पर्यटन विकाससम्बन्धी अन्तरक्रिया, खुला हाफ अल्ट्रा म्याराथन दौड प्रतियोगिता, छेलो तथा डोरी चढ्ने खेल, सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यालय स्तरीय कौरा नृत्य प्रतियोगिता, अर्ग्यानिक खानाका स्टलहरू महोत्सवका मुख्य आकर्षणका रूपमा रहने पर्यटनविद् हरिसिं गुरुङले जानकारी दिए ।
छिम्केश्वरी समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित छ । छिम्केश्वरीको उचाइसम्म सडक सञ्जाल नजोडिएकाले त्यहाँ पुग्नका लागि करिब एक/डेढ घण्टा पैदल यात्रा गर्नुपर्छ । पैदल यात्रामार्फत बर्सेनि थुप्रै सङ्ख्यामा आन्तरिक पर्यटक छिम्केश्वरी पुग्ने गरेको आँबुखैरेनी गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिए ।रासस