महासङ्घ अध्यक्ष ढकालद्वारा नेपालमा थप लगानीका लागि ओपेक फण्डलाई आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि ओपेक फण्डलाई आग्रह गर्नुभएको छ ।

अस्ट्रियाको भिएनामा मङ्गलवार ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटका अवसरमा अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै ओपेक फण्डका लागि नेपाल नयाँ र ठुलो लगानीको गन्तव्य बन्न सक्ने बताउनुभयो ।

अध्यक्ष ढकालले विश्वका उदाउँदा ठुला अर्थतन्त्र, चीन र भारतको बिचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताउनुभएको छ ।

उहाँले नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्नुभयो ।

ढकालले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरूमा लगानीको ठुलो सम्भावना रहेको बताउनुभयो ।

नेपाल सरकार र भारत सरकारबिच सम्पन्न दीर्घकालीन विद्युत् व्यापार सम्झौताको स्मरण गर्दै ढकालले यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहूच पुर्‍याउने हुँदा जलविद्युत तथा नवीकरणीय ऊर्जामा लगानीको अवसर रहेको बताउनुभयो ।

त्यसै गरी उहाँले अर्को छिमेकी मुलुक बंगलादेशसँगको विद्युत् व्यापार सम्झौता अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालको सांस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशील जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने बताउनुभयो ।

नेपाल सरकारले हालै लगानीका लागि बाधक ठानिएका केही पुराना कानुनहरू संशोधन गरेको सन्दर्भ उल्लेख गर्दै महासङ्घसँगको सहकार्यमा नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

त्यसै गरी, महासङ्घको पहलमा दुई पक्षीय लगानी (बीआईए) फ्रेमवर्क तयार भई मन्त्रीपरिषद्बाट पारित समेत भइसकेको छ । यसले पनि वैदेशिक लगानीको सुरक्षा र लगानीको वातावरण निर्माणमा सहयोग पुग्नेछ, उहाँले भन्नुभयो ।

मुलुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासङ्घले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले महासङ्घले केही समय पहिले भारतको नयाँ दिल्ली, चीनको बेइजिङ र युएईको दुबईमा बिजनेस समिटको आयोजना गरेको बताउनुभयो ।

उहाँले महासङ्घ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताउँदै नेपाली लगानीकर्ताहरू विदेशी लगानीको साथ नेपालमा हुने लगानीमा कुनै पनि क्षेत्रमा साझेदारीका लागि तयार रहेको समेत बताउनुभयो ।

ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफाले नेपालमा ओपेक फण्डले गरेका लगानीको चर्चा गर्दै नेपालको नवीकरणीय ऊर्जा, जलविद्युत तथा साना तथा मझौला उद्योगको प्रवर्द्धनमा ओपेक फण्डले थप लगानी गर्न तयार रहेको बताउनुभएको छ ।

त्यसै गरी, उपाध्यक्ष तारेक अलनासरले ओपेक फण्ड नेपालमा लगानी वृद्धि गर्न सकारात्मक रहेको बताउनुभयो ।

ओपेक फण्डले ग्लोबल आइएमई बैङ्कलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले मङ्गलवार हस्ताक्षर गर्नुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x