सांसदहरूले आगामी आर्थिक वर्षको बजेट खेल पर्यटन, परम्परागत सीप विकास, बन्द भएका उद्योग सञ्चालनलगायतमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आज भएको पूर्व-बजेट छलफलसम्बन्धी प्रतिवेदन २०८१ मा सहभागी सांसदहरूले विदेश पलायन रोक्नुपर्ने, बजेट फर्छ्योटमा छलफल हुनुपर्ने, रैथाने बीउ तथा बिजनको संरक्षणलगायतका विषयमा ध्यानाकर्षण गराउनुभएको हो ।
समितिकी सभापति कमला पन्तले धेरै मन्त्रालयले बजेट नै खर्च गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै मन्त्रालयहरूले बजेट खर्च गर्न सकेका छैनन् । तलब भत्ता र निर्माणमा मात्रै जोड दिएका छन् । जलवायु परिवर्तनदेखि सामाजिक सुरक्षा सम्मका बजेटको कुरा छ, सुशासनप्रति संवेदनशील नभएको भन्ने पनि आएको छ ।”
समितिका सचिव डा रोजनाथ पाण्डेले प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सम्पूर्ण बजेट अनिवार्यरुपमा जलवायु, लैङ्गिक र दिगो विकास लक्ष्यअनुरूप समेटिनुपर्ने सुझाव दिनुभयो । प्रतिवेदनमा भनिएको छ, “दिगो विकास लक्ष्यअनुसार अनिवार्यरुपमा तीन तहका सरकारका बजेट कोडिङ नहुनु, भएको पनि औचित्यपूर्ण नहुनु, बजेट विनियोजन भएको अवस्थामा पनि खर्च हुन नसक्नु, अनधिकृत रूपमा बजेट रकमान्तर गरी खर्च गर्नुजस्ता सरकारी तवरबाट बजेट अनुशासन पालना गरेको पाइएन ।”
पाण्डेले भन्नुभयो, “सरकारले वित्तीय व्यवस्थापन प्रभावकारी बनाउन बेरुजु फर्छ्योट, राजस्व असुली छानबिन र करका दायरा विस्तार गरी राजस्व वृद्धि गर्नेतर्फ कदम चाल्न जरुरी देखियो । बजेटको मिति नजिएकाले जति सक्दो छिटो छलफल गरी सुझाव पठाइहाल्नुपर्नेछ ।”
प्रतिवेदनमा सुझाव दिँदै सांसद उर्मिला अर्यालले आगामी बजेटले उद्योग सबलीकरणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लगानी सम्मेलनले धेरैजसो जलस्रोत, पर्यटन मात्र बढी समेटेको जस्तो लाग्यो । अहिले मुख्य कुरा बन्द भएका उद्योग सुचारु गर्नुपर्नेछ । खर्च उन्मुख भयौँ तर प्रतिफलमा सजग हुन सकेका छैनौँ ।”
सांसद कृष्णप्रसाद पौडेलले श्रमिकको सम्मान नभएकाले विदेश पलायन बढेको बताउनुभयो । “श्रमको पञ्जी करण छैन । ‘ब्रेन ड्रेन’ होइन ‘लेबर ड्रेन’ भइरहेको छ । व्यावसायिक प्रतिष्ठानले यस्तो श्रम शोषण गरिरहेका छन् । न्यूनतम ज्याला पाएका छैनन्”, उहाँले भन्नुभयो, “किन यहाँ बस्छन् त, भर्ना भएका विद्यार्थी ड्रप आउटको सङ्ख्या बढिरहेको छ । उनीहरूलाई टिकाउने अवस्था के छ, यसमा पनि सोच्नुपर्छ ।”
सांसद वामदेव गौतमले आफ्नै देशमा उत्पादन गर्ने वातावरण मिलाउन प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सामूहिक उत्पादनमा जोड दिनुपर्छ । निर्माण, उत्पादन, वैज्ञानिक खोजमा लाग्नुपर्छ ।”
सांसद झक्कुप्रसाद सुवेदीले विकसित देशहरूले प्राथमिकता पत्ता लगाएर काम गरिरहेका र सफल भएको उदाहरण दिँदै भन्नुभयो, “हाम्रो प्राथमिकता के हो ? त्यसलाई पहिचान गर्न सक्नुपर्छ । ऊर्जामा धेरै गर्न सकिन्छ, यसले छिटो परिणाम दिन सक्छ ।”
आगामी बजेटमा पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    