अर्थतन्त्र सुधारको प्रयाससहित चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले घोषणा गरेका कार्यक्रमको नतिजा देखिन नसकेको धारणा सांसदहरूले राख्नुभएको छ ।
सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा अर्थतन्त्र सुधारका लागि सरकारले उदासीनता देखाएको भन्दै आलोचना भएको हो । पूर्व अर्थमन्त्री तथा समिति सदस्य विष्णुप्रसाद पौडेलले अहिले मुलुकको अर्थतन्त्र चिन्ताजनक अवस्थामा पुगिसकेको बताउनुहुँदै अर्थमन्त्रीले यसबारे जवाफ दिनुपर्ने धारणा राख्नुभयो ।
“अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको छ । यसलाई सरकारले स्विकार्नु पर्छ । उपेक्षा गरेर बस्न सकिँदैन”, उहाँले भन्नुभयो, “अधिकांश आर्थिक सूचक नकारात्मक छन् । बजारमा तरलता छ तर कर्जा माग छैन । वैदेशिक विकास सहायतामा कटौती भएको छ । इतिहासमै डरलाग्दो अवस्थाको समस्याबाट निजी क्षेत्र गुज्रिरहेको छ ।”
अर्थतन्त्र सुधारका लागि सरकारका भएका प्रयास पर्याप्त नरहेको एवम् नीति तथा कार्यक्रम र बजेटमार्फत घोषणा गरिएका कार्यक्रमको कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको उहाँको दाबी छ । अर्थमन्त्रीले यसको जवाफ दिनुपर्ने पौडेलको भनाइ छ ।
“अर्थ समितिले बोलाउँछ, उहाँ आउँछु पनि भन्नुहुन्छ तर आउनुहुन्न । टालटुले प्रश्न र जवाफले अहिलेको समस्या समाधान हुन सक्दैन”, बैठकमा अर्थमन्त्री अनुपस्थित भएकोबारे इङ्गित गर्नुहुँदै पौडेलले भन्नुभयो, “संसद् र समितिमा आर्थिक सूचकको सामान्य प्रस्तुति लिएर आउने होइन, विस्तृत जानकारीसहित आउनुभयो । अर्थतन्त्रको अवस्था बारेको जानकारी आम नागरिकलाई पनि दिन आवश्यक छ ।”
अहिले बजारमा माग र आपूर्तिमा उल्लेख्य रूपमा कटौती भएको बताउनुहुँदै पौडेलले औद्योगिक उत्पादन कटौती भएको यसले बेरोजगारी बढाएको धारणा राख्नुभयो । साधारण खर्चसमेत धान्न नसक्ने अवस्था रहेको राजस्व सङ्कलनको नाजुक स्थिति अर्को समस्या रहेको उहाँको भनाइ छ । त्यस्तै, पुँजीगत खर्च बढ्न नसक्दा अर्थतन्त्रमा सुधारका सङ्केत नदेखिएको उहाँको बुझाइ छ ।
समिति सदस्य डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधारका लागि अर्थमन्त्रीलाई शङ्काको लाभ दिन दिएर कार्यान्वयनको अवस्थासम्म पुग्दा नतिजा देखिन नसकेको बताउनुभयो । “अर्थतन्त्र सुधारका लागि बजेट वक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्मको कार्य प्रगतिको अवस्था के छ ? यसबारे अर्थमन्त्रीले जवाफ दिनुपर्छ”, वाग्लेले भन्नुभयो, “अर्थतन्त्रका सूचकलाई बृहत् (म्याक्रो) रूपमा भन्दा पनि सूक्ष्म (माइक्रो) तरिकाले हेरिनुपर्छ । रेमिटेन्स, पर्यटन र जलविद्युत् क्षेत्रका सम्भावनालाई देखाएर मात्र हुँदैन ।”
समिति सदस्य ज्ञानबहादुर शाहीले राजस्व चुहावट बढेको भनेर सरकार मातहतकै निकायले स्वीकारेको अवस्थामा भन्सारका कर्मचारीलाई के कस्तो कारबाही हुन्छ भनेर जिज्ञासा राख्नुभयो । त्यस्तै, नेपालको कर प्रणालीमा सूचना प्रविधिको प्रयोग अझै बढ्न नसकेको र पुरानै शैलीको कर भुक्तानी प्रणालीले राजस्व बढ्न नसकेको उहाँको भनाइ छ ।
पछिल्लो समय नेपाल भित्रने पर्यटकले यहाँ गर्ने खर्चको तुलनामा नेपाली विद्यार्थी विदेश पढ्न जाँदा बाहिर गइरहेको रकम बढी रहेको उल्लेख गर्नुहुँदै शाहीले मुलुकमै अवसर सिर्जना गर्नका लागि साना तथा मझौला खालका उद्यमशीलता विकासमा सरकारले जोड दिनुपर्ने बताउनुभयो ।
अर्थ सचिव कृष्णहरी पुष्करले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसँग सम्बन्धित ८० प्रतिशत कार्यविधि र मार्गदर्शन बनिसकेको दाबी गर्नुभयो । बजेट कार्यान्वयनको सबै काम अर्थ मन्त्रालयले मात्र गर्ने नभई विषयगत मन्त्रालयको दायित्व पनि रहने उल्लेख गर्नुहुँदै अर्थ सचिव पुष्करले अर्थ मन्त्रालयले समन्वयकारी भूमिका र सहजीकरण गरिरहेको बताउनुभयो ।
त्यस्तै, राजस्व सचिव रामप्रसाद घिमिरेले चालु आर्थिक वर्षको दुई महिनासम्ममा पनि राजस्व सङ्कलनमा उत्साह देखिन नसकेको स्विकार्नुभयो । “राजस्व प्रशासनमा त्यति उत्साह देखिन सकेको छैन । बजेटले लिएका नीति र  सुधारका कार्यक्रमको तत्काल नतिजा नआउने भएकाले सुधार हुन समय लाग्छ”, उहाँले भन्नुभयो, “समस्या पहिचान गरेर सुधार गर्नुपर्छ । तर बढाइचढाइ गर्न हुँदैन । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामै पुगेको भन्ने होइन ।”
नेपालको राजस्व प्रणालीमा संरचनागत समस्या विरासतको रूपमा जकडिएर बसेको उल्लेख गर्नुहुँदै घिमिरेले त्यसमा सुधार गर्नका लागि समय लाग्ने बताउनुभयो । अहिले आन्तरिक अन्तःशुल्क र पैठारीको अन्तःशुल्क घटेको देखिएकाले यसको कारण खोज्न अध्ययन भइरहेको पनि उहाँले बताउनुभयो । त्यस्तै, विभिन्न छुट तथा अनुदानका कार्यक्रमका कारण पनि राजस्वमा कमी आएको हुने सक्ने उहाँको भनाइ छ ।
अर्थ समितिको आजको बैठकमा अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले अर्थतन्त्रको वर्तमान अवस्थाबारे समितिलाई जानकारी गराउनुभएको थियो । गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर उत्पादक मूल्यको आधारमा दुई दशमलव २६ प्रतिशत र उपभोक्ता मूल्यको आधारमा एक दशमलव ८६ प्रतिशत छ ।
गत आर्थिक वर्षको मुद्रास्फीति सात दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको बजेटमा छ प्रतिशतको आर्थिक वृद्धिदर र साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र मुद्रास्फीति कायम राख्ने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ ।
सुवेदीले चालु आर्थिक वर्षको सुरुवातदेखि नै थप बजेट माग हुन थालेको बताउनुभयो । त्यस्तै, कर्मचारी संयन्त्र निर्णय गर्न हिचकिचाउने गरेको र सही निर्णय गर्दा पनि डराउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । विभिन्न विकास आयोजना प्रमुखहरू चाँडो चाँडो परिवर्तन हुँदा त्यसको असर समग्र खर्च प्रणालीमा परेको उहाँको भनाइ छ । सार्वजनिक खर्चको पुरातन शैली कायम नै रहेको उल्लेख गर्नुहुँदै सुवेदीले अहिले निक्षेपको अवस्था बढ्दो र कर्जाको माग घट्दो रहेको बताउनुभयो ।
 
अर्थतन्त्र सुधारमा बजेटले घोषणा गरेका कार्यक्रमको नतिजा देखिएन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    