एसवाई प्यानल नेपालको आइपिओ असोज ७ देखि खुला


एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) खुला गरेको छ। कम्पनीले यस चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आइपिओ निष्कासन थालेको हो।

यसअघि भदौ २९ गतेदेखि आइपिओ ल्याउने तयारी भए पनि प्राविधिक कारणले ढिलाइ भई आजदेखि निष्कासन सुरु भएको हो।

कम्पनीले कुल १ अर्ब ३० करोड ८९ लाख रुपैयाँ बराबरको पुँजीमध्ये ४० प्रतिशत अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्ने अनुमति पाएको छ। यसमध्ये २ लाख ६१ हजार ६२९ कित्ता सेयर (२ प्रतिशत) उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्टाइएको छ। चितवनको रत्न नगर नगरपालिकाका सबै वडाका बासिन्दाले यसमा आवेदन दिन सक्नेछन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ४ लाख ९७ हजार ९२ कित्ता (१० प्रतिशत) सेयर निष्कासन गरिएको छ। साथै, कम्पनीका कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता सुरक्षित गरिएको छ।

सो आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। उद्योग प्रभावित क्षेत्रका लागि आवेदन बन्द हुने मिति छिटोमा असोज २१ र ढिलोमा कात्तिक ९ रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने असोज १० सम्म छिटो र ढिलोमा असोज २१ सम्म आवेदन दिन सकिनेछ।

इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इश्युअर रेटिङ डबल बी (ICRA NP IR BB)’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको सङ्केत गर्दछ।

प्रभु क्यापिटल लिमिटेड आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा रहेको छ। स्थानीय बासिन्दाले कम्पनीको कार्यालय, प्रभु क्यापिटल, प्रभु बैङ्कका तोकिएका शाखा तथा अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने धितोपत्र बोर्डद्वारा स्वीकृत सबै सि–आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x