ज्योति विकास बैङ्कले देशका ग्रामीण क्षेत्रहरूमा जीवन रक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई ध्यानमा राख्दै, रोल्पा जिल्लास्थित घर्तिगाउँ हेल्थ पोस्टमा नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ। बैङ्कले रोल्पा जिल्लाको घर्तिगाउँ लगायत, स्याङ्जा जिल्लाको अर्जुनचौपारी र गुल्मी जिल्लाको पुर्तिघाटस्थित हेल्थ पोस्टमा सो उपकरण प्रदान गरेको छ। दुर्गम क्षेत्रमा सुरक्षित प्रसूति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैङ्कले आफ्ना शाखा नभएका स्थानमा पनि बेबी वार्मर प्रदान गरेको हो।
ज्योति विकास बैङ्कको पहलमा रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं. ०२ स्थित घर्तिगाउँ हेल्थ पोस्टमा बेबी वार्मर जडान गरिएको छ। यसका अतिरिक्त, बैङ्कले गुल्मी जिल्लाको पुर्तिघाट हेल्थ पोस्टमा र स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं. ०२ स्थित अर्जुनचौपारी हेल्थ पोस्टमा पनि बेबी वार्मर जडान गरेको छ। विभिन्न कार्यक्रमहरू मार्फत बैङ्कका मार्केटिङ, ब्रान्डिङ्ग तथा डिपोजिट सेल्स विभाग प्रमुख कुशल जङ्ग अधिकारीद्वारा उक्त स्वास्थ्य चौकीहरूका पदाधिकारी लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिका बिच सो बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। साथै, सोही अवसरमा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरूलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो।
बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको "हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत यी ३ वटा बेबी वार्मर सहित हालसम्म देशभर ६२ वटा बेबी वार्मर मेसिनहरू प्रदान गरिसकेको छ। यी उपकरणहरू मार्फत हरेक वर्ष करिब २२९४ भन्दा बढी नेपाली शिशुहरूलाई यो सुविधा उपलब्ध गराई अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। विशेष गरी ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै बैङ्कले उक्त मेसिन प्रदान गर्दै आएको छ। साथै हालसम्मको योगदानले करिब ११४७० भन्दा बढी शिशुहरू प्रत्यक्ष रूपमा यस सेवाबाट लाभान्वित भएका छन्। यस्ता जीवन रक्षण गर्ने अत्युत्तम क्षेत्रमा नेपालमा रहेका बैङ्क तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैङ्कले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ।
ज्योति विकास बैङ्कद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
