माछापुच्छ्रे बैङ्क लि.ले मनायो २४औँ वार्षिकोत्सव

माछापुच्छ्रे बैङ्क लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित भव्य रूपमा मनाइरहेको छ । “उत्सव र सहयोग“ भन्ने नाराका साथ बैङ्कले असोज महिनालाई वार्षिकोत्सव अभियानको रूपमा लिएको हो । यसै अवसरमा बैङ्कले असोज १८ गते केन्द्रीय कार्यालय तथा बैङ्कका सम्पूर्ण शाखा कार्यालयहरूमा केक काटेर हर्षित उल्लासका साथ वार्षिकोत्सव मनाएको छ ।

हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रूपमा मनाउँदै आएको बैङ्कले यस वर्ष २४औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरूलाई विभिन्न प्रकारका विशेष सुविधाहरू प्रदान गर्दै आएको छ भने “उत्सव र सहयोग“ भन्ने नाराका साथ देशभर रहेका विभिन्न शाखाहरू मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ ।

जस अन्तर्गत बैङ्कले वृद्धाश्रम तथा बाल मन्दिरहरूमा सहयोग, वृक्षारोपण, वित्तीय साक्षरता प्रवर्द्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

केही दिन अगाडी मात्रै आएको बाढी पहिरोमा परि विस्थापित भएका काभ्रे जिल्लाको रोशी गाउँपालिका १ र २ का बाढी पहिरो पीडित घरपरिवारलाई २०० थान ब्लाङ्केट बैङ्कले प्रदान गरेको छ । बाढी पहिरोका कारण विभिन्न स्थानहरूमा बाटो अवरुद्ध हुँदा बैङ्कले उक्त ब्लाङ्केटहरु रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो । यस लगायत बैङ्कका विभिन्न शाखा कार्यालयहरूको माध्यमबाट स्थानीय तहमा आवश्यक विभिन्न सामाजिक कार्यमा सहभागी हुँदै आएको छ ।

यसै गरी बैङ्कले २४औ वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्न अफरहरू सञ्चालनमा ल्याएको छ । बैङ्कले असोज १ देखि ३० गते सम्मको अवधिमा सो बैङ्कको मोबाइल बैंकिङ्ग MBL M SMART (APP), डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकहरूलाई विशेष छुटको योजना ल्याएको छ । जस अन्तर्गत बैङ्कको डेबिट कार्ड लिने ग्राहकहरूले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिरहेको छ । बैङ्कले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिको लागि एकमुष्ट रु.२,४०० मात्रमा प्रदान गरिरहेको छ । साथै बैङ्कले मोबाइल बैंकिङ्ग MBL M SMART (APP) सेवाको सदस्यता शुल्कमा वार्षिक ५०% सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४% सम्मको छुट प्रदान गर्नेछ ।

देशका हरेक वर्ग र क्षेत्रमा सेवा पुर्‍याउने उद्देश्यका साथ १६५ शाखा कार्यालयहरू २०१ एटिएम, १११ शाखारहित बैंकिङ्ग सेवा, १२ एक्सटेन्सन काउन्टर मार्फत १६ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको बैङ्कले आगामी दिनहरूमा अझ प्रभावकारी र दिगो कार्यक्रमहरू सञ्चालन गर्दै, सामाजिक उत्तरदायित्वका अभियानहरूलाई थप प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x