विराटनगर महानगरपालिका बिच बीमा सम्बन्धी अन्तर्क्रिया

नेपाल बीमा प्राधिकरणको आयोजनामा आज विराटनगरमा विराटनगर महानगरपालिकासँग बीमा सम्बन्धी अन्तर्क्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि नेपाल बीमा प्राधिकरणसँग सहकार्य गर्न महानगरपालिका तयार रहेको बताउनुभयो ।

प्रमुख कोइरालाले अन्तर्राष्ट्रिय स्तरमा विकसित बीमा सम्बन्धी नवीनतम प्रविधि र अभ्यास नेपालमा पनि भित्र्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाल सरकारको बीमा सम्बन्धी सल्लाहकार समेत रहेको नेपाल बीमा प्राधिकरण प्रदेश सरकार र स्थानीय सरकारलाई बीमा सम्बन्धी नीतिगत सल्लाह एवम् सुझाव दिन तयार रहेको बताउनुभयो ।

अध्यक्ष सिलवालले स्थानीय सरकारले अनुदानका लागि छुट्टाउने बजेटबाट गरिब तथा न्यून आय भएका वर्गको बीमा गरिदिने व्यवस्था गरेमा बीमा मार्फत लक्षित वर्ग लाई दीर्घकालीन रूपमा फाइदा हुने र स्थानीय तहलाई पनि विपद्का बेला आर्थिक भार नपर्ने बताउनुभयो ।

अध्यक्ष सिलवालले महानगरपालिकालाई आफ्ना भवन तथा सम्पत्तिको बीमा गरी आर्थिक सुरक्षण गर्न आग्रह गर्नुहुँदै त्यसबाट नागरिकहरूलाई पनि घर तथा सम्पत्तिको बीमा गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले प्राधिकरणका काम कारबाही, बीमाको महत्त्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र बीमा क्षेत्रको विकास एवम् विस्तारमा स्थानीय तहको भूमिका सम्बन्धी प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरूले बीमा दाबी भुक्तानी प्रक्रिया झन्झटिलो रहेको, समयमा बीमा दाबी नपाएको, तीन–चार वर्षमा सरेण्डर गर्दा रकम नपाउने अवस्था रहेको, बजार मूल्यभन्दा निकै कममा पशुबीमाको बीमाङ्क निर्धारण गर्दा किसानहरूलाई मर्का परेको लगायतका धारणा राख्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x