ग्लोबल आइएमई बैङ्क र इशान अस्पतालबिच बैङ्कका ग्राहकलाई स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी

ग्लोबल आइएमई बैङ्क लिमिटेड र इशान बाल तथा महिला अस्पतालबिच ग्लोबल आइएमई बैङ्कका ग्राहकहरूलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त समझदारीमा बैङ्कका प्रमुख बजार अधिकृत दिलीप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गर्नुभएको छ । उक्त अवसरमा अस्पतालका निर्देशक प्रा. डा. राम नन्दन पी. चौधरीको विशेष उपस्थिति रहेको थियो ।

साे सम्झौता अनुसार, अस्पतालले बैङ्कका डेबिट/क्रेडिट कार्ड एवम् बैङ्कको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरूलाई औषधी उपचारका लागि अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

अस्पतालले बैङ्कका ग्राहकहरूलाई अस्पतालको शैया शुल्क, अस्पताल सेवाहरू: डायगोनेस्टिक, ओ.पी.डी लगायतका सेवाहरू साथ–साथ आकस्मिक सेवाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

“यस साझेदारी पश्चात् ग्लोबल आइएमई बैङ्कका ग्राहकहरूले गुणस्तरीय स्वास्थ्य सेवा सुविधाहरू उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरू विस्तार गर्न ग्लोबल आइएमई बैङ्कसँग सहकार्य गर्न पाउँदा खुसी छौँ” इशान अस्पतालका निर्देशक प्रोे.डा. राम नन्दन पि. चौधरीले भन्नुभयो ।

चौधरीले यो पहलले पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत स्पष्ट पार्नुभयो ।

यसै गरी, ग्लोबल आइएमई बैङ्कका प्रमुख बजार अधिकृत दिलीप पोखरेलले, “इशान अस्पतालसँगको साझेदारीले बैङ्कका ग्राहकहरूलाई लाभान्वित गर्ने र बैङ्कको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाको प्रयोगकर्ता वृद्धि हुने” विश्वास बैङ्कले लिएको जानकारी दिनुभयो ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैङ्कले यस्ता किसिमका विभिन्न समय सान्दर्भिक साझेदारी योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ । यसै गरी, ‘सबैका लागि बैङ्क’ को नारालाई सार्थक बनाउँदै बैङ्कले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी प्रत्यक्षरुपमा लाभान्वित गरिरहेको छ ।

त्यसै गरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x